जिल्लाका सवै विद्यालयमा स्वास्थ्य तथा नर्सिङ कार्यक्रम लागु होओस्
गोरखा जिल्लामा पहिलो पटक पाइलट प्रोजेक्टको रुपमा गोरखा नगरपालिकामा विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम लागु भएको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा अभ्यस्त गराउन सो सेवा सुरु गरिएको हो ।
कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकाका सबै माध्यमिक तहका विद्यालयमा स्टार्फ नर्सहरु खटिएका छन् । उनीहरुले विद्यालयमा गई किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धनका साथै महिना वारी स्वास्थ्य व्यवस्थापनमा टेवा पुर्याउनेछन् । विद्यालय तहबाटै बालबालिकालाई स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने, विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवा प्रदान गर्ने, स्वस्थ, सफा र सिकाइमैत्री वातावरण तयार गर्नका लागि नर्सहरुले काम गर्नेछन् ।
साथै व्यवहार परिवर्तनमा आधारित स्वास्थ्य शिक्षा प्रदान गर्ने, स्वास्थ्यसंग सम्बन्धित विद्यालय कार्यक्रम कार्यान्वयन गर्ने, विद्यालय उमेरका बालबालिकाको मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने, प्राथमिक उपचार सेवा प्रदान गर्नेछन् ।
त्यस्तैगरी समयमा नै स्वास्थ्य समस्याको पहिचान तथा रोकथाम गरी जटिलता देखिएमा समयमै सम्बन्धित अस्पतालमा प्रेषण गर्ने र विद्यार्थीहरुको विद्यालय छाड्ने दर घटाउनका लागि लागि पर्नेछन् ।
जिल्लामा ११ वटा पालिकाहरु छन् । अहिले एउटा पालिकामा मात्र यस्तो कार्यक्रम लागु भएको छ । गोरखा नगरपालिकाको पनि माध्यमिक तहका विद्यालयमा मात्र यो कार्यक्रम लागु भएको छ । कक्षा आठसम्म, पाँचसम्म सञ्चालित विद्यालयमा पनि यो कार्यक्रम लागु भएमा सबै विद्यार्थीका समस्या सम्बोधन हुने थियो ।
जिल्लाभर करिब चारसय २० वटा विद्यालयहरु छन् । सबै सामुदायिक विद्यालयको अबस्था उस्तै हो । अझै ग्रामीण भेगका विद्यालयको अबस्था दर्दनाक हुनसक्छ । त्यसैले सवै ठाउँमा यस्तो कार्यक्रम छिटोभन्दा छिटो कार्यान्वयन होओस् ।




