ठेक्का नखुल्नाले गिटी बालुवाको चोरी बढ्यो
गोरखामा नदीजन्य निर्माण सामग्री(ढुंगा, गिटी, बालुवा) चोरी निकासी बढिरहेको छ । गत साउनयता अर्थात पाँच महिनाको अवधिमा नदीजन्य सामग्री चोरी निकासीमा संलग्न ४० वटा भन्दा धेरै सवारी साधन प्रहरीले नियन्त्रण गरेको छ । प्रहरीले नियन्त्रणमा नलिएकाको संख्या पनि उस्तै छ ।
कतिपय पालिकाका नदी निकारका बासिन्दा चोरी निकासी देखेर आजित भइसकेका छन् । न जनप्रतिनिधिले तह लगाउन सकेका छन्, न प्रहरीले । कतै रातारात, कतै दिनदहाडै चोरी निकासी भइरहेका छन् ।
वर्तमान व्यवस्थामा नदीजन्य निर्माण सामग्री उत्खनन, संकलन, ओसारपसार गराउनस्थानीय पालिकालाई अधिकार प्रत्यायोजन गरेको छ । तर स्थानीय पालिकाले अहिलेसम्म उत्खनन, संकलन, ओसारपसारको ठेक्का आव्हान गरेको छैन । कतिपयले आइईई गरिरहेका छन्, कतिपयले गर्ने प्रक्रियामा रहेको जनाएका छन् ।
विकासोन्मुख देशमा निर्माण सामग्रीको चरम खाँचो हुन्छ । तर वन तथा वातावरण सम्बन्धी ऐनले उत्खनन, संकलन, ओसारपसारमा धेरै नै कडाइ गरिरहेको छ । आवश्यकता र आपूर्तिको तालमेल नमिल्दा धेरै ठाउँमा चोरी, निकासीको अबस्था सिर्जना भएको छ ।
ढुंगा, गिटी, बालुवाको कारोबार गर्नेलाई नाफाको मार्जिन अपेक्षाकृत हुने भएकाले यस क्षेत्रमा लाग्नेको संख्या धेरै छ । नवयुवा पिँडी यस क्षेत्रमा धेरै आकर्षित हुने गरेको पाइन्छ । आफ्नै क्षेत्रको निर्माण सामग्री बेचेर मालामाल हुने भएपछि वैध भन्दा अवैध कदम चाल्न स्थानीय युवाहरु बढि लागि परिरहेको देखिन्छ ।
अधिकांश युवा पिँडी यस क्षेत्रमा लागेकाले प्राय धेरै ठाउँहरुमा यो काम गर्नेहरु बीच कुटपिटको अबस्था पनि सिर्जना भएको देखिन्छ ।
जहाँ अभाव हुन्छ, त्यहाँ तनाब हुन्छ । त्यसैले नदीजन्य सामग्री उत्खनन, संकलन, ओसारपसारको ठेक्का चाँडै भइदिए, चोरी निकासी घट्ने थियो ।




