| सोमवार, कार्तिक २३, २०८३

निर्दोष बिरामीले सास्ती नपाउन्

१. गोरखा अस्पताल अहिले बन्द छ । इमर्जेन्सी सेवा खुल्ला छ, अन्य सबै सेवा बन्द छ । शनिबार गोरखा अस्पतालमा केही युवाहरुले हुलदंगा गरेको, हुलहुज्जतको अराजकता बढ्दै जाँदा चिकित्सक सन्दीप श्रेष्ठमाथि आक्रमण भएको, छेकबार गर्न गएका अर्का चिकित्सकमाथि पनि हातपात भएको अस्पताल स्रोत बताउँछ ।
दोषी पक्राउ गरी कारबाही नगरेसम्म अस्पताल नफर्कने स्वास्थ्यकर्मीहरुले विज्ञप्ति जारी गरी सूचित गरेका छन् ।


२. गोरखा अस्पतालमा सुत्केरी गराउन गएकी महिला सौचालय जाँदा लडेको, उनको रेखदेख गर्न बसेका उनका श्रीमानलाई पनि भित्र प्रवेश गर्न नदिइएको, उनी सुत्केरीलाई उपचार गर्न नसकिने भन्दै रिफरल कार्ड बनाएर गैर व्यवसायिक चरित्र देखाएको जस्ता आरोप सुत्केरी पक्षको छ ।
दोषीलाई कानूनी कारबाही नगरे आन्दोलनमा उत्रिने र अस्पताल प्रशासन नै त्यसको जवाफदेही हुने नेविसंघको चेतावनी छ ।


३. शनिबार गोरखा अस्पतालमा भएको घटनाको बारेमा समाचार लेखेबापत पत्रकार महासंघका सदस्य राजेन्द्र न्यौपानेमाथि नेविसंघका जिल्ला सदस्य तथा दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष रचन परियारले फोन गरी तथानाम गाली गलौज गरेको, ज्यानमार्ने धम्की समेत दिएको भन्दै पत्रकार महासंघ गोरखाले आइतबार विज्ञप्ति जारी गरी विरोध गरेको छ । साथै दोषीलाई यथासीघ्र कारबाहीको माग गरिएको छ ।


अहिले विश्वभर, देशभर र गोरखामा समेत कोभिड महामारीको त्रासदी छ । सम्भावित कोरोना वा अन्य विभिन्न समस्या लिएर सर्वसाधारण नागरिक अस्पताल गइरहनु पर्ने अबस्था छ । तर अस्पताल बन्द हुँदा यसको मार सर्वसाधारण नागरिकमा परेको छ ।

द्वन्द्व अस्पतालका स्वास्थ्यकर्मी र नेविसंघका कार्यकर्ता बीच छ, पत्रकार र नेविसंघका कार्यकर्ता बीच छ । तर यसको मार सर्वसाधारण नागरिकमा परेको छ । त्यसैले विवाद आफ्नो ठाउँमा छ, सर्वसाधारण नागरिकलाई सास्ती हुन नदिन सेवा सुचारु गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्