कहिले सम्म गर्नुपर्ने आन्दोलन !
सरकारले राष्ट्रिय गौरवको रुपमा लिएको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम कछुवा गतिमा छ । आयोजना निर्माण सुरु भएपछि पुरा गर्न पाँच वर्ष भन्दाबढि समय लाग्ने अनुमान गरिएको थियो । तर निर्माण सुरु हुने तरखर अझै छैन । २०७२ सालमा आयोजना बन्ने क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरि बितरण सुरु गरिएको थियो तर अहिले सम्म मुआब्जा बितरण सकिएको छैन ।
आयोजनाबाट बिस्थापित, प्रभावितहरु अहिले पनि मुआब्जा रकम छिटो चाहियो भन्दै आन्दोलन गरिरहेका छन् । पुर्खादेखि बस्दै आएका थातथलो छाड्नुपर्ने भएपछि नयाँ ठाउँमा पुर्नस्थापना गरिदिनुपर्यो भन्ने माग उनीहरुको छ ।
के सरकारले देशलाई नै कायपलट गर्ने योजनाको रुपमा लिएको राष्ट्रिय गौरब नाम दिईएको आयोजनाका प्रभावितले यस्तो विषयमा आन्दोलन गरिरहनुपर्ने हो ? प्रभावित क्षेत्रका मानिस आयोजना बन्ने भएपछि उत्साहित थिए ।
तर समय बित्दै जाँदा जग्गाको मुआब्जा निर्धारण गर्न, छिटो बितरण गर्न, थोरै जग्गा हुनेहरुको सुकुम्बासी बन्ने स्थिती नआओस भनेर बारम्बार आन्दोलन र दबावमुलक कार्यक्रमम गर्न बाध्य छन् । घरगोठ, बोटबिरुवाको मुआब्जा बितरणको काम सुरु नै भएको छैन । आयोजनाबाट बिस्थापित हुनेहरु कहाँ बस्ने ठेगान छैन । कहिलेबाट आयोजना बन्छ भन्ने पनि अनुमान गर्न सकिँदैन ।
अन्यौलका बिच प्रभावित बिस्थापितहरु अहिले पनि आन्दोलनमा छन् । बुधवारबाट चरणवद्ध रिले अनसन सुरु गरेका छन् । आयोजना कार्यालयमा आयोजना छिटो बनाउन, जनताको माग सुनुवाई गर भन्ने नारा बोकेर प्रभावित बिस्थापितहरुले कहिले सम्म आन्दोलन गरिरहनुपर्ने हो ? यो प्रश्नको जवाफ न आयोजना कार्यालयले दिन सकेको छ न त सरकारले नै ।




