| सोमवार, कार्तिक २३, २०८३

होमस्टे फेसन मात्र नभै गुणस्तरीय होओस्

केहीबर्ष यता (कोरोना याम बाहेक) देशका धेरै गाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न घरबास सेवा(होमस्टे) स्थापना गर्ने लहर चलेको छ । गोरखाकै पनि दर्जन भन्दा धेरै गाउँमा संस्थागत तथा व्यक्तिगत पहलमा होमस्टे सेवा स्थापना भएका छन् ।

होमस्टे सेवालाई प्रवद्र्धन गर्न प्रदेश सरकारले पनि मनग्य अनुदानको व्यवस्था गरेको छ । गण्डकी प्रदेश सरकारले गतबर्ष मात्र तीनसय वटा गाउँमा होमस्टे सेवा सञ्चालनका लागि अनुदान दिने निणर्य गरेको थियो । यसबर्ष पनि सो कार्यक्रमले निरन्तरता पाएको छ ।

आर्थिक उपार्जनसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई मौलिक परिकारको स्वाद चखाई आकर्षण गर्न तथा स्थानीय साँस्कृतिक गीत, नाच, भेषभूषाहरुले मनोरञ्जन गराई गाउँगाउँमा पर्यटन विकास गर्न होमस्टे सेवा प्रवद्र्धन गरिएको हो ।

एकाध होटल, रिसोर्ट मात्र नभै पर्यटकबाट सर्वसाधारण गाउँलेसमेत लाभान्वित होउन् भन्ने हेतुले सरकारले घरबास सेवालाई उकासिरहेको छ । देश तथा विदेशबाट आएका पाहुनालाई साथी बनाई आफ्नै घर गाउँ आएको, इष्टमित्र भेटेको जस्तो अनुभूति गराई आउँदा दिनमा फेरि फेरि आइरहने वातावरण सिर्जना गर्न पनि होमस्टे सेवा प्रवद्र्धन गरिएको हो । जसले गर्दा कैयौँ गाउँमा आन्तरिक तथा वाह्य पर्यटकको ओइरो लागेको देखिएको छ ।

यदाकदा होमस्टेहरुमा विकृतिहरु आएका छन् । कतिपय होमस्टेमा छाडा गतिविधिहरु गर्ने, स्थानीय मौलिक संस्कार, सँस्कृतिको पर्वाह नगरी अत्याधिक मादक पदार्थ सेवन गरी स्थानीय चेलीबेटीहरुप्रति दुराशय राखेर पनि पर्यटक होमस्टेमा जाने गरेको देखिएको छ ।
यस्ता गतिविधिप्रति स्थानीय समुदाय सचेत, सजग रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्