| सोमवार, कार्तिक २३, २०८३

गाईगोरुको ओसारपसार नियन्त्रण गर्नुपर्छ

हिन्दूहरुको लक्ष्मीको प्रतीक गाई तथा देवादिदेव शिवको बाहन गोरुप्रति यसअघिसम्म मर्यादा गर्ने गरिन्थ्यो । राष्ट्रिय जनावर गाई र यसबाट जन्मेको बाच्छा, गोरुको संरक्षण गर्ने पुरानो कानूनमा पनि ब्यबस्था थियो । तर विशेषगरी जनयुद्धमा गाउँगाउँमा गाईगोरु काट्ने, मासु खाने, खुवाउने गरियो ।

त्यसपछि बद्लिँदो राजनीतिक परिस्थितिमा गाईलाई राष्टिूय जनावरबाट हटाउन केही शक्ति लागिपरे । तर झण्डै ८० प्रतिशत हिन्दू धर्मावलम्बीको बसोबास रहेको देश भएकाले चौतर्फी बिरोध भयो र राष्ट्रिय जनावरको रुपमा गाई कायम त भयो तर गाईको संरक्षणको बारेमा कानूनमा केही उल्लेख भएन ।

त्यसपछि गाईगोरुको अवैध कारोबार सुरु भयो । जथाभावी ओसारपसार हुन थाल्यो । नियन्त्रण गर्न कानूनले केही उल्लेख नगरेपछि प्रहरी प्रशासन देखे पनि नदेखे जस्तो गरी बस्न बाध्य भयो । काटमारको उद्देश्यले भएको ओसारपसारमा पशुसम्बन्धी काम गर्ने कार्यालय पनि मौन बस्न बाध्य भयो । यो गतिबिधि अधिकांश नेपालीका लागि पाच्य छैन ।

कानूनले नै ओसारपसारमा खुल्ला गरेपछि प्रहरी, प्रशासन, नियमन गर्ने अधिकारी, सर्वसाधारण नागरिक मुकदर्शक हुनु परेको अबस्था छ । गत सोमबार गोरखामा एक टूक गोरु स्थानीयबासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लियो । कागजपत्र केही नभेटेपछि जहाँबाट ल्याएको, त्यहीँ छाड्न निर्देशन दियो, तर तस्करी गर्ने टोलीले सम्बन्धित ठाउँमा नलगी तराईतिर पुर्‍याए ।


थाहा छ, ती गाईगोरु काटमारका लागि लगिएका हुन् तर लाने ब्यबसायीहरु भन्छन्, जोत्न लगेको हो । ‘हैन’ भन्नका लागि कुनै प्रमाण, आधार छैन । काटमारका लागि लगेको हो भनेर खुल्लमखुल्ला भनिहाले भनेपनि कारबाही गर्ने कानून छैन ।

परम्परादेखि मानमानितो गर्दै आएको गाईगोरुको ओसारपसार यस्तो अबस्थामा गुज्रिरहेको अबस्था छ । त्यसैले मुलुकले यसलाई नियमन गर्न, नियन्त्रण गर्न कानून बनाएर कारबाहीको बाटो खुल्ला गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्