सदरमुकामभित्रैका जुवाडे पनि खोज्ने कि ?
तिहारमा प्रहरीले नयाँसाँगुका जुवाडे पक्राउ गरेर वाहवाही कमायो । उनीहरुलाई मुद्धा दर्ता समेत गरेर दायित्व निर्वाहको थप चरण पार गरेको छ ।
प्रहरीको चाडबाड बिशेष सुरक्षा योजनामा बाह्रमासे जुवा अन्त्य गर्ने सन्दर्भ प्रमुख प्राथमिकतामा थियो । सोही कार्यान्वयनको क्रममा प्रहरीले थप अर्को सफलता हात पार्यो । यसलाई निरन्तरता दिनु जरुरी छ ।
गोरखा बजारभित्र पनि कतिपय घरमा बाह्रमासे जुवा खेलिन्छ । त्यसको ‘गन्ध’ प्रहरीको ‘इन्टेलिजेन्स’(सादा पोशाकका प्रहरी) लाई राम्ररी थाह छ । आफ्नो रणनीतिभित्र परेको टार्जेट भेट्न यदि इमान्दार कदम चाल्ने हो भने हरमटारी, चाइनिजधारा ढुंगागाढेलगायतका ‘स्थायी खाल’ नियन्त्रणमा लिन ढिला गर्नु हुदैन ।
यद्यपि जुवा खेलाउने सकुनी ‘राजनीतिक पावरदार’ भएकाले पक्राउ गर्न मुठी कसिलो बनाउनु पर्ने अबस्था छ । मुठी कसिलो पार्ने कि खुकुलो भन्ने प्रहरी इञ्चार्जमा निर्भर गर्छ । जुवाडेलाई गाडीमा लिएर बिभिन्न सहर चहारेर जुवा खेलाउने मोबाइल जुवाडेको बारेमा पनि गोरखाबजारबासी जानकार छन् ।
यस्ता बिषय खोजी गर्ने कामलाई मुख्य पेशा बनाएका ‘इन्टेलिजेन्स’ यस बिषयमा धेरै नै जानकार छन् । नियन्त्रणमा लिने कि नलिने भन्ने उनै जानुन् । नियन्त्रणमा लिएनन् भने किन लिएनन् भन्ने प्रश्न गर्न आम नागरिकलाई छुट छ ।
पन्थेस्वाँरा र नयाँसाँगुका जुवाडे पक्राउ गरेपछि नाङ्लो ठटाउने काम भएको छ । हात्ती तर्से नतर्सेको अध्ययनको बिषय हो । अब नाङ्लो मात्र ठटाइरहने कि हात्ति नै धपाउने ? तर्साएर मात्र छाड्ने हो भने एकदिन, दुईदिन गर्दै सहरका जुवाडे नतर्सी सुरिँदै जान्छन् । यो व्यवहारिक यथार्थ हो ।
तसर्थ अब सहरका बाह्रमासे जुवाडेको खाल उठाएर देखाउने प्रहरी सामु चुनौति छ ।




