सरकारभन्दा ठेकेदार बलियो
सरकार ठेकेदार, दलाल, बिचौलियाको हातमा छ भनेर आरोप लगाउनेहरु भन्ने गर्छन् । सरकार र ठेकेदार, बिचौलिया, दलालहरुको साँठगाँठ, ठेकेदार, बिचौलिया, दलालहरुको पक्षमा सँधै निणर्य गरेको देख्दा आरोप मिथ्या हो भन्न पनि नसकिने अबस्था छ ।
बिडम्बनाचाहिँ के भने जुनसुकै पार्टीले, जो सुकै नेताले सरकार चलाए पनि अबस्था यो भन्दा फरक देखिएन । त्यसैले देश अपेक्षित अग्रगमनमा जान सकेन । शान्ति र संवृद्धिको नारा लज्जित भएको पनि सरकारको यस्तै गतिविधिले गर्दा हो ।
एउटा कटु सत्यचाहिँ के हो भने, बनाउने पनि ठेकेदारले हो, नबनाउने पनि ठेकेदारले नै हो ।
निर्माणको काम, खरिदको काम, संकलनको, उत्खननको, ढुवानीको, आयात, निर्यातको काम गर्दा ठेकेदार, दलाल, बिचौलिया मार्फत गर्नुपर्ने राज्यको ऐन, कानून, नियममा बाध्यकारी व्यवस्था छ । सरकारी संयन्त्रले यस्ता काम गर्न नपाउने व्यवस्थाले पनि ठेकेदारहरु शक्तिमान बनेका हुन् ।
देशका साना ठूला आयोजनाहरु ठेकेदारले जिम्मा लिन्छन् तर काम अघि बढाउँदैनन्, फलत :काम अलपत्र हुन्छ, जनताले दुख पाइरहेका हुन्छन् । तर जिम्मा लिएको काम जसरी पनि सम्पन्न गर्न सरकारले ठेकेदारलाई बाध्य बनाउन नसक्ने अबस्था पाइन्छ । ललाइफकाई काम गरायो भने गरायो नत्र, ताकेता गरेर, हप्काएर, तर्साएर, धम्काएर निर्धारित समयमै गुणस्तरीय काम गराउन सक्ने अबस्था रहेनछ । कागजमा जे लेखिएको भए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सक्दैन रहेछ ।
अहिलेसम्मको अलपत्र परेको काम देख्दा उपरोक्त दृष्यहरु देखिए । कैयौँ पुलको काम दसौँ बर्षदेखि अलपत्र छन् । सडक त्यतिकै अलपत्र छन् । सिँचाइ कुलोको अबस्था त्यस्तै छ तर न कार्यालयले ठेकेदारलाई कालोसूचीमा राखेको छ, न दण्डित गरेको छ । यसले ठेकेदार भन्दा कार्यालय कमजोर देखाउने रहेछ ।




