धर्मशालामा गेष्ट हाउस नचलोस्
मनकामना देश, विदेशमा प्रसिद्ध मन्दिर हो । यहाँ देश, विदेशबाट तीर्थालु, भक्तजनहरु पूजा, आराधना गर्नका लागि आउने गर्छन् ।
नेपालकै पहिलो केवलकार सञ्चालन भएपछि यहाँ थप गुल्जार भयो ।
यसैपनि आँबुखैरेनीदेखि हिडेर मनकामना मन्दिर जानेको लर्कन उल्लेखनीय हुन्थ्यो । केवलकार बनेपछि वृद्धि भएर दैनिक सरदर पाँच हजार जना भक्तजन मन्दिरमा जाने गरेको तथ्यांक केवलकारसंग छ ।
सो मन्दिरमा पुग्नेहरु सबै पैसावालहरु हुन्नन् । सन्त, महन्त, योगी, भिखारीहरु पनि मन्दिरमा जाने गर्छन् । साथमा न्यूँन बजेट भएकाहरु पनि भगवतीको आस्था र भक्तिले मन्दिरमा पुगेका हुन्छन् ।
उनीहरु रात बस्नु पर्ने भएमा महंगा होटलमा बस्नु नपरोस् । न्यून खर्चमै धर्मशालामा बस्ने सुविधा मिलोस् भनेर तत्कालीन राजा वीरेन्द्रको पहलमा मनकामना मन्दिरमा धर्मशाला निर्माण भएको थियो । करिब २१ वटा कोठा भएको सो धर्मशालामा गुठी संस्थानले आँखा गाढ्यो । अहिले उसले पचासौँ लाख भाडा असुलेर धर्मशालामा होटल चलाएको छ ।
यसमा स्थानीयबासी कोही पनि खुशी छैनन् । धर्मशालामा धर्मशाला नै चल्नुपर्छ भनेर स्थानीय युवाहरुले हस्ताक्षर संकलन अभियान पनि चलाएका थिए । तत्कालीन संस्कृति मन्त्री मिनेन्द्र रिजाल, गुठी संस्थानका अध्यक्षसमेतलाई आमन्त्रण गरी धर्मशालामा गुठी संस्थानको रजगज अन्त्य हुनुपर्छ भनेर अन्तरक्रिया गरी माग पनि गरेका थिए । उनीहरुले सकारात्मक प्रतिक्रिया दिएका पनि थिए ।
तर यत्तिका बर्ष भइसक्यो, सो धर्मशाला अहिलेसम्म पनि गुठीकै मुठीमा छ ।
१५ बर्षको अवधिका लागि गरेको भाडा सम्झौताको अवधि अहिले सकिएको छ, नयाँ सम्झौता भएको छैन । यही अवसरमा गुठी संस्थानले सो धर्मशालाको होटल हटाउनु पर्छ र धर्मशाला नै सञ्चालन गर्नुपर्छ ।




