
वर्षा केही दिन जारी रहने
यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार दुईदिन यता देशका बिभिन्न ठाउँमा आंशिक एवं भारी वर्षात भईरहेको छ । यो क्रम केही दिन अझै कम्तीमा दुई दिन कायम रहने बताइएको छ । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक चार वा पाँच दिनको अन्तरालमा मात्र दिने गरिएको छ ।
अघिल्ला केही वर्षयता कहिले मनसुन ढिला सुरु हुने त कहिले ढिला सकिने प्रवृत्ति देखिएको थियो तर यस वर्ष भने मनसुन सुरु भएकै दिन जुन १० बाट नै मनसुन सक्रिय बन्यो ।




