
पुराना फाइल पल्टाउँदै स्याङ्जा प्रहरी : १७ वर्षको हुँदा अपराध, ६२ वर्षमा पक्राउ
स्याङ्जाको हरिनास गाउँपालिका–१ का ६२ वर्षीय लालबहादुर लाम्जालीले किशोरावस्थामा भएको एउटा घटनाको सजाय यो उमेरमा भोग्नु पर्ला भनेर सोचेकै थिएनन् । त्यसैले अपराध गरेको ४५ वर्षपछि आँगनमा प्रहरी टोली आइपुग्दा लाम्जालीले अन्य कुनै कारणले आएका होलान् भन्ने कल्पेका थिए ।
तर, जब प्रहरीले २०३२ सालमा भएको एउटा डाँका चोरी सम्बन्धी घटनाबारे उनलाई बतायो, तब लाम्जाली आश्चर्यमा परे । प्रहरीलाई उनले बताए अनुसार घटनापछि विभिन्न ठाउँमा लुकिछिपी बसेका उनी एक वर्षपछि भारत गए ।
२०५५ सालमा फर्किएर नेपालमै आए । केही समय गाउँघरमै गए पनि द्वन्द्वकालका वेला सुखद् भविष्य देखेनन् । त्यसैले ६ वर्ष मलेसिया गएर बसे । ०६१ सालमा फर्किएर आउँदा पनि उनको खोजी भएन ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले पुराना घटनाका फरार अभियुक्तलाई समात्ने अभियान चलाएपछि भने उनी आइतबार पक्राउ परेका छन् । जिल्ला अदालतले उनलाई ६ वर्ष जेल र ३१ हजार ५० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । सजाय भुक्तानीका लागि अहिले उनलाई जिल्ला कारागार चलान गरिएको एसपी होविन्द्र बोगटी बताउँछन् ।
लाम्जालीको जस्तै अनुभव छ, हरिनाश गाउँपालिका–५ का ६२ वर्षीय कर्णबहादुर मह भन्ने कर्णबहादुर भट्ट क्षेत्रीको पनि । कान्छी आमालाई हाडनाता करणी गरेको अभियोग लागेको २३ वर्षपछि उनी पक्राउ परेका छन्




