कोरोना रोकथामको बिकल्प लकडाउन होइन
छ महिना लामो लकडाउनले विश्वको संगसंगै नेपालको अर्थतन्त्र पनि डामाडोल भइसकेको छ । कोरोना नामको हाउगुजीलाई बहाना बनाएर यसलाई अझै निरन्तरता दिइराखे केही ‘माफिया’ बाहेक देश र व्यक्ति तन्नम हुनेछ ।
अहिले नै रोगले भन्दा भोकले मरिने भइयो भन्ने आवाज ज्वलन्त हुदै गएको छ । रोगले मर्नेको भन्दा भोकले मर्नेको संख्या धेरै भएको तथ्यांक पनि आइरहेको छ । भलै त्यो मृत्यूको स्वरुप भोकमरीको रुपमा मात्र नदेखिई आत्महत्याको रुपमा हुनसक्छ, लुटपाटको रुपमा हुनसक्छ, हर्ट एट्याकको नाममा हुनसक्छ, डिप्रेशनको रुपमा हुनसक्छ, इत्यादि ।
कोरोना एउटा रोग हो, यसलाई स्वीकार्नै पर्छ । तर यो ‘रोगको औकात’ भन्दा धेरै प्रचारप्रसार भएको छ । जसले विश्व दुनियाँलाई त्रासको गुमराहमा राख्ने काम भइरहेको छ । यसबाट लाभ कोकोलाई भइरहेको छ ? एकदिन पक्कै खुल्नेछ । त्यस दिन ती ‘माफिया’ र तिनका मतियारहरुकोहरुको जालो तोडिने छ ।
यसो भन्नुको तात्पर्य अहिल्यै असावधानीपूर्वक हुलहुज्जत गरौँ भन्ने होइन । कोरोना छैन होइन, छ । यसलाई रोकथाम गर्न साधारण उपायहरु छन्, जस्तो कि, डेढ, दुई मिटर दुरी कायम गरौं । मास्क लगाऔँ आदि । तर कोरोना छ भन्दैमा दुलोभित्र लुकेर बस्नु भ्रम हो । अब यो भ्रमलाई धेरै ‘प्रोपगण्डा’ बनाएर दुनियाँलाई त्रसित बनाएर लाभ लिनेहरुलाई टेवा पुर्याइरहनु जरुरी छैन ।
भ्रमको पछि लागेर धेरैले राष्टू, अन्तर्राष्टूलाई क्षति पुर्याइरहेका छन् । यसलाई अझै निरन्तरता दिँदा कसलाई लाभ पुग्छ ? बुझ्नुपर्छ । त्यसैले अब कोरोनाका कारण गरिएका बन्द खुल्नुपर्छ । व्यक्तिगत स्वास्थ्यमा सचेत रहनुपर्छ ।




