| सोमवार, कार्तिक २३, २०८३

होम आइसोलेशनमा होम केयर राम्रो


अहिले गोरखामा होम आइसोलेशनमा बस्नेहरु बढेका छन् । बुधबारसम्म गोरखामा २७ जना होम आइसोलेशनमा बसेको तथ्यांक छ ।
वैध अफवाहले कोरोनाको त्रास यति धेरै बढाएको छ कि, आफ्नो नजिकको कसैलाई कोरोना भएको पुष्टि हुने बित्तिकै प्रायको होस हवास उँड्छ ।
महामारीले भन्दा वैध अफवाहले मान्छे धेरै आतंकित छन् । हृदयघात, मस्तिष्कघात, आत्महत्याको दर पनि यसले बढाइरहेको छ । त्यसमाथि पनि कसैलाई संक्रमण पुष्टि भयो र आइसोलेशनमा लाने तयारी भयो भने उनीहरुमा यस्तो भावना पैदा हुन्छ कि मानौ अब फर्केर आइन्छ वा आइँदैन । अनि उनीहरु कमजोर हुदै जान्छन् ।
जब व्यक्तिको आत्मबल कमजोर हुन्छ, तब सानातिना समस्याले पनि ठूलै रुपमा सताउन थाल्छ । लागेका रुघाकाँसोले पनि हैरान पार्छ र जटिलतातिर लैजान्छ । त्यसैले कोरोनामा मात्र होइन, कुनै पनि समस्यामा आत्मबल उच्च भयो भने रोगलाई जितिन्छ भन्ने कहावत छ ।
यो हकमा कोरोनाका बिरामीलाई होम आइसोलेशन उचित हुन्छ । घर, परिबारसित बस्न पाउँदा उसमा एक्लोपनको आभास हुदैन । फर्केर घर आइन्छ कि आइँदैन, भन्ने त्रास हुदैन । घर परिबारले पकाएको मिठो, चोखो, पोषिलो खाना पाउँछ । घरायसी वातावरणले उपलब्ध गराउन सकेजति उच्च तहको स्याहार सुसार, माया र सुविधा पाउँछ । सरकारलाई पनि आर्थिक भार कम हुन्छ ।
त्यसैले होम आइसोलेशन उचित देखिन्छ । यति हुँदाहुदै पनि होम आइसोलेशनको केही दुर्गुणहरु छन् । सानो पनि हेलचेक्य्राइँले परिबार, छरछिमेक, समाज, समुदायलाई पनि संक्रमण फैलाउँछ । संक्रमणमुक्त हुँदा पनि उसले प्रयोग गरेका सरसामान निसंक्रमण हुन सकेन भने फेरि खतरा बढ्ने सम्भावना बढ्छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानी कम पर्न सक्छ । यी पाटोहरुमा सुधार भयो भने होम आइसोलेशन धेरै उत्तम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्