
२०७२ साल भूकम्पको सम्झना

उहिया पुग्ने धोको छ । उहिया गाँउ साच्चिकै सुन्दर छ । अनि त्यहाँका गाँउलेहरु पनि असाध्यै मिजासिला । जीवन भर याद आइरहने खालका ।
बैशाख १३ गतेबाट बिद्यार्थी भर्ना अभियानको तयारी हँुदै थियो । अस्थायी दरबन्दीमा निमाबि तहको अगे्रंजी बिषयको शिक्षकको रुपमा नियुक्ति लिएको भर्खर ७ महिना मात्रै भएको थियो । म र मेरा एक जना सहकर्मी मित्र शुरेस बिद्यालय तर्फको यात्राको लागि प्रस्थान गर्यौं । गोरखा सदरमुकामबाट तीनदीनको यात्रा पछि पुगिने ठाउँ, उहियास्थित पार्वती निमाबि हाम्रो यात्राको गन्तब्य थियो । दिउसो १ बजे शुरु भएको हाम्रो त्यो दिनको यात्रा सोती बजार पुगेपछि टुङ्गियो । एक होटेलमा बास बस्ने निधो गर्यौं । बैशाखको महिना होटेल नजिकै सुसेली खेल्दै बगेको बुढी गण्डकी नदीले मनास्लु हिमाल तिर बाट ल्याएको चिसो हावाको अनुपम आनन्दका साथ त्यो रात बित्यो । बिहानै ५ बजेको चिया नास्ता खाएर हाम्रो पैदल यात्रा शुरु भयो । सोती भन्दामाथि गाडी नचल्ने भएको हुनाले हातमा निगालोको लठ्ठी टेकेर झोला भिरेर हामी कस्सिएर हिड्न थाल्यौं । बाटो निक्कै कठिन थियो लापुको भीर सम्झदा आँतनै सिरिङ्ग हुने खालको । पहरा खोपेर बनाएको बाटो उताबाट खच्चड आउँदा ज्यानै जोगाउन मुस्किल । बाटैभरि ओहोर दोहार गर्ने खच्चडको ताँती हुन्थ्यो अनि खच्चडको घण्टीको चुन्दुूङ चुन्दुूङ आवाजले दिक्क लाग्ने । त्यसमाथि बाटैभरी खच्चडको गोबर र मुत्र, गर्मीको बेला माखा भुसुनाले सताउने । यी सारा कुरालाइ हामी दुईभाइको ख्यालठट्टाले बिर्साइ दिन्थ्यो । हामी अगाडि बढ्दै गयौं ।
लापुबेसी, खानीबेसी हुँदै माछाखोला पुगियो । साथी शुरेसले माछाखोलामा खाना खाने कुरा गर्नु भयो । मैले इन्कार गरेँ र भनेँ, “होइन, खाना त तातोपानी पुगेर रने दाइकोमा नै खानु पर्छ ।’ उहाँ सहमत हुनुभयो र फेरि हाम्रो यात्रा अगाडि बढ्यो । हामी खोर्लाबेशी कटेर केही अगाडि पुुग्दै थियौँ । बाटोमा बाख्रा गोठालाहरु पात बजाउदै सुसेल्दै थिए । भिरैभरि भेडा र बाख्रा छपक्कै । क्याप र माक्स लगाएर लौरीको साथमा रफ्तारमा पाइला बढिरहेकै थिए । भोक लागिसकेको थियो । रने दाइको होटेलको खाना, सिलमको अचार, कोलो(राज्मा)कोे दाल सम्झिदै । तातोपानी पुग्न १०, १५ मिनेट जति बाँकी हँुदो हो । भिरको मुखैमा पुग्न मात्रै लागेका के थियौँ एक्कासी पारि तिरको डाँडा चरर चिरिन थाल्यो । हामी माथिको भिरबाट ठुलो आवाज आयो बम खसाले जस्तैगरी ।
मलाइ रिंगाटा लागे जस्तो भयो । तत्काल पछाडि फर्केर एउटा ठुलो स्वामीको रुखको आड लिएर हामी दुइ बस्यौँ । मन सम्हाल्ने कोसिस गरेँ, चारैतिर हेरेँ, धुलोले केहि देखिएन । त्यत्तिकैमा एकजना हुल्चुक तिरका घलेदाइ पनि त्यही रुखको फेदमा अत्तालिँदै आए । उनी भन्दै थिए लौ बर्बाद भयो, बर्बाद भयो….। सुख्खा पहिरो बगेको बग्यै थियो । हामी बसेको रुखको फेदमा पनि बडेमानको ढुङ्गो आएर बजारियो । लाग्यो मलाइ मर्ने दिन आजै रहेछ । एक्कासी छोरी सम्झिएँ, भर्खर छ महिना टेक्दै थिइन् । छोरीले आफ्नो बाबुलाई देख्न नपाउँदै म यहिँ सिद्धिने भएँ । मनमा अनेक कुरा खेल्न थाल्यो । भिरबाट चोइटिएको ढुङ्गाले लागेर हामी बसेको रुखको हाँगा भाँचिन थाल्यो । मलाइ यस्तो लाग्यो कि चाइनाले एटम बम परीक्षण प्रहार पो गर्यो कि । बास्तवमा मेरो मानसपट्टलमा झट्ट रुखको फेदमा जानुपर्छ भन्ने सोच त्यतिबेला आउनुको कारण थियो, गोली आयो भने रुखलाइ छेड्न सक्दैन ।
करिब आधा घण्टा त्यहि ठाँउमा बस्यौँ । त्यतिबेलासम्म हामी कसैलाइ थाहा भएन कि यो के भइरहेको छ । मैले सोधेँ, शुरेस सर यो के भएको होला है, उहाँले फ्याट्ट भन्नु भयो यो त भुकम्प हो, फेरि फर्किन्छ, अब हामी जतिसक्दो छिटो सुरक्षित ठाँउ खोजेर जानुपर्छ नत्र बाँचिन्न । नजिकै ओडार खोजेर जानुपर्छ सरले थप्नु भयो । धुलोले आँखा हेर्नै नसक्ने थियो । मैले सरलाइ भनेँ तपाइँ ओडार खोज्नुहोस म माथिबाट ढुङ्गा आए न आएको हेर्दै जानकारी गराउँछु । एक मनले सोच्यो यत्रो बिपदबाट त यो रुखले जोगायो अब ओडारमा जाँदा मरिने पो हो कि । १५ मिटर जति पर ओडार भेटेर मलाइ छिटो आउन भन्नु भयो । म पनि त्यतै तिर लाग्ने निधो गरेर हतार हतार दौडिएर जाँदा खुट्टा काँपेर लरबरायो र रुखको हाँगामा अल्झिएर बेस्सरी पछारिएँ । बल्लतल्ल उठेर ओडारमा पुगेँ, जहाँ घले दाइ र शुरेस सर बस्नु भएको थियो । म पुगेको केहि सेकेण्ड नहुँदै भिरबाट ढुङ्गा खसेर हाम्रो अगाडि आएर बजारियो । धन्न बाँचियो गाँठे मनमनै सोचेँ । घले दाइ आफ्नो पछिपछि आएका परिवार सम्झेर एक छिन चिच्याए । मैले सान्त्वना दिदै भनेँ तातोपानी आएका भए त बाँच्न सक्छन दाइ नआत्तिनुस ।
बिहान ५ बजे सोतीबाट हिडेको त्यति बेला दुई बजिसकेको थियो । भोक, थकाइ र डरले शरीर शिथिल भएको थियो । कतै जाँदा कहिल्यै पनि खाजा लिएर नहिड्ने म त्यो दिन भने ४ पोका चाउचाउ र दालमोठ, परिवारले झोलामा राखिदिएकाले लिएर आएको थिएँ । मैले झोलाबाट चाउचाउ निकाल्दै साथीहरुलाई भनेँ यो खाएर बेपत्तासंग दौडिएर तातोपानी पुग्नुपर्छ । घले दाइले लामो सुस्केरा हाल्दै झोलामा भएको एक बोतल लोकल रक्सी निकाले र खान आग्रह गरे । मैले भनेँ यो रक्सी खायो भने त दौडिन सकिन्न कि ? उनीहरुले दुईचार घुँड्को खाँदा केहि हुन्न भन्ने तर्क गरे र म पनि त्यो कुरामा सहमत भएँ । त्यतिनै बेला केही मान्छे माथिबाट कराउँदै आएको देखियो । ती मध्ये २ जना प्रहरी पनि थिए, माछाखोला जान झरेका । एकजना प्रहरीले हामीलाई आत्तिदै भने, तपाँइहरु छिटो यहाँबाट गइहाल्नुस र गाँउतर्फ लाग्नुस माथि बुढीगण्डकी पहिरोले थुनियो भन्ने खबर छ ।
अब झन डरको हामीमा सिमै रहेन । तत्काल हामी तातोपानी तर्फ हिड्यौँ तर घले दाइ प्रहरीसँग केहि सोध्न खोज्दै थिए । पछि कता गए थाहा पाइएन । बाटो भिरमा परिणत भइसकेको थियो । बल्लतल्ल तातोपानी पुगियो । निकै कारुणिक दृष्य कुनामा रहेको घले दाइको पसल क्षतविक्षत भएको, मान्छे कता गए एक जना पनि देखिएन । हामी गाँउ पुग्ने बिचार गरेर अगाडि बढयौँ । हावा हुरी सहितको बर्षाका कारण हामी नजिकै रहेको ओडारमा बस्न पुग्यौँ । ओडारभरि खचाखच मानिसहरु थिए । कोही बेहोश भएर ढलेका, कोही आफन्त हराएको पिरले रोइकराइ गरिरहेका । त्यहिबेला एकजना मान्छे शरीरभरि चोट लिएर घिस्रिदै नजिकै आएर ढले । उनी पानी पानी भन्दै थिए तर बरिपरि पानी थिएन र कसैको पनि पानी ल्याएर दिन सक्ने अाँट थिएन । भिरबाट ढुङ्गा खसिरहेकै थियो । झम्के साँझ भइसकेको थियो । केहि मानिस भन्दै थिए अब यहाँ बस्नु सुरक्षित छैन माथि यो भन्दा ठुलो भेडा राख्ने ओडार छ त्यँही जानुपर्छ । ती घाइते मान्छे त्यस ठाँउमा छलिए बरु एक जनाले एक बोतल रक्सी दिए र भने तिर्खा लागे यहि खाउ । पानी दिन सकिएन के गर्ने । हामी पनि उनीहरुकै पछि लाग्यौँ । त्यस ठाँउबाट माथि गाँउ पुग्नको लागि तीन घण्टाको नाकै ठोस्ने उकालो हिड्नु पर्दथ्यो । त्यो सम्भव थिएन । केहि उकालो दौडदै पार गरेपछि ओढार पुगियो । ओडार त पहिले नै मानिसहरुले भरिइसकेको रहेछ । तै पनि त्यो रात त बिताउनै पर्यो । छेउतिरको साँघुरो ठाँउमा कोचाकोच गरेर बसियो ।
पारीको भिरबाट पहिरो खसेको खस्यै । मुसलधारे पानी, त्यस माथिको चट्याङ, मलाई डरले मुटु काँपथ्यो थुरुरु । मैले शुरेस सरलाइ कुनातिर बस्न आगह गरँे । तिमी डरायौ ? हुन्छ, कुनामा आऊ । अब त बाँचियो झैँ लाग्याछ, उनले भने । कम्मरदेखि टाउकोसम्मको भाग ओडार भित्र अरु बाहिर पानीले भिज्ने ठाँउमा परेको थियो । ओढार भासिएन भने त बाँचिएला । खुट्टा मै ढुङ्गाले लागेछ भने पनि भुतुक्कै त पक्कै नमरिएला । मन मनै सोचेँ । तल घाइते भएर बसेका दाइ के गर्दै होलान । सबै आ आफ्नै ज्यान जोगाउन कुदे कसले कसको बास्ता गर्ने । सायद भोलिसम्म मर्छन होला । त्यो रात पनि आँखा झिमिक्क नगरी बित्यो । बिहान ६ बज्यो, अब त जसरी पनि गाँउ पुग्नु पर्छ भनेर उकालो यात्रा सुरु भयो ।
तीन छाक खाना नखाएको ज्यान उकालो चढ्न मानेकै थिएन, तैपनि बाध्यता थियो । लौरीको साहारामा । बाटोको नामोनिशाना केहि थिएन चार हात खुट्टाले जबरजस्त उकालो भिर पार गरियो । तीन घण्टा लाग्यो हामीलाई । स्यालम् भीरको टुप्पोबाट उहिया गाँउ देखियो । थचक्क बसियो एकछिन । डर र त्रासले दिग्भ्रमित भएको मानस्पट्टलले केहि राहत मिलेको अनुभूत गर्यो । एकछिन गाँउतिर हेरेर मन बहकाउन मन लाग्यो । गाँउको ठयाक्कै अघिल्तिर सेतो कञ्चन हिमाल ठिङ्ग उभिएको । चिसो शिरशिरे बतास चौबिसै घण्टा चलिरहने, मन पनि सफा र सहयोगको भावनाले भरिएको गुरुङ्ग, घले र कामी जातिको बसोबास । असाध्यै मनमोहक ठाउँ । हामी ४० मिनेटको उकालो हिडेपछि गाउँ पुगियो । तर त्यति बेला भने गाँउ पुरै उजाडिएको थियो । गाँउलेहरु आआफ्नै पिडामा छटपटाइरहेका, कोहि रोइरहेका, कोहिले हामीलाई देखेर दङ्ग परे । उनीहरुले हाम्रो आश मारेका रहेछन् । भेडा चराउन गएका गोठालाहरु हराइरहेको थिए । लेकमा साग टिप्न गएका एक हुल बिद्यार्थी सम्पर्कमा थिएनन् । एक जना हाम्रै सहकर्मी पनि माछाखोलासम्म सम्पर्कमा थिइन् । त्यसपछि अत्तोपत्तो थिएन । पुरै गाउँ शोकमा थियो ।
गाँउलेहरु घर छाडेर आलुबारीमा त्रिपाल टाँग्ने मेसो मिलाउँदै थिए । हामी पनि त्यतैतिर लाग्यौँ । दुईरात घले गाँउको आलुबारीमा बित्यो । भोलिपल्ट बिहानै भीरमा लाश अडकिएर बसेको खबर आयो त्यो लास भेडा चराउन गएका एक जना गाउँलेको रहेछ । गाँउलेहरु लास लिन जानका लागि डराइरेका थिए । टेलिफोन र बिजुली बत्ति नभएकाले कतै सम्पर्क गर्न सक्ने अबस्था थिएन । मैले घर सम्झन थालेँ, मेरो घरमा के भएको होला । बा, आमा, श्रीमती अनि छोरी । उनीहरु बाँचेका भए मलाई त पक्कै पनि मर्यो भन्ने सोचेका होलान् । यी याबत कुराले मलाई खपिनसक्नु भइरहेको थियो । त्यो बेलासम्म राज्यको कुनै उपस्थिति थिएन । राहत पुग्ने त कुरै भएन । माथि आकाशमा हेलिकप्टर घुमेको घुमेइ थियो । हामी भोलिपल्ट बिहानै तल घर फर्कने निधो गर्यौँ । बिहान ६ बजे यात्रा शुरु भयो । बाटो सबै पहिरोले पुरिएको । ठाँउ ठाँउमा ढुङ्गा खसिरहेकै थिए । परकम्पहरु गइरहेका थिए । हामी ती सारा चिजको पर्वाह नगरी दौडिरहेका थियौँ । थुप्रै खच्चडहरु मरिरहेका देखिए । भारी बोकेरै मरेका खच्चडहरु गन्हाएर दुर्गन्ध फैलिएको थियो । केहि मानिसहरुका लासहरु ढुङ्गाले च्यापिएर अलपत्र, अबस्थामा देखिन्थे । ती सारा कारुणिक दृष्य नियाल्दै हामी लापुबेशी पुगियो । अल्लि पर भारतीय सेनाको हेलिकप्टरले त्रिपाल झार्दै गरेको देखियो । हामीलाई पनि लैजान्छ कि भनेर हतार हतार गरेर दौडियौँ । हात हल्लाउँदै नजिकै पुग्न लाग्दा हेलिकप्टर उड्यो । लापुको भिरको बाटो पुरै पहिरो गएकाले हामी गण्डकीको झोलुङ्गे पुल तरेर मान्बु हुँदै सोती झर्न पर्ने भयो । थकित ज्यान फेरि उकालो चढ्न बाध्य भयो । साँझ ७ बजे सोती पुगियो । खाने बस्ने ठेगान थिएन । एउटा होटेलमा गएर बास माग्यौँ होटेल साहुजीले त्रिपालमा सुत्ने बन्दोबस्त मिलाइ दिनु भयो । केहि खाने कुराको साथमा । परकम्पन छिन छिनमा आँउदा मानिसहरु निद्रामै चिच्याइ रहेका सुनिन्थे । भोलिपल्ट बिहान मेरो फोन सम्र्पक चितवनमा रहेका काकासँग भयो । एउटा एफएमबाट पनि फोन आयो । मैले म सुरक्षित रहेको जानकारी गराउँदै, माथि गाँउतिर राहतको लागि पहल गरिदिन आग्रह गरेँ ।
हाम्रो पैदल यात्रा सोतीबाट आरुघाटतर्फ अगाडि बढ्यो । सोती नजिकै पहिरोमा ५,७ जना पुरिएका रहेछन मानिसहरु खोजिरहेका देखिन्थे । करिब ३ घण्टाको हिँडाइपछि आरुघाट आइ पुगियो । बजार सुनसान थियो । धेरैबेरको पर्खाइपछि बल्लतल्ल एउटा ट्रक भेटियो, त्यसैमा चढेर गोरखा बजार आइपुगियो । धन्न सबै परिवार सकुशल रहेको खबर पाएँ । त्यसको केहि समयपछि मैले शिक्षक पदबाट राजिनामा दिएर गैर सरकारी सेवामा आवद्ध भएँ । मलाई फेरि एकपटक त्यो संसार उजाडेको कालोदिनमा यात्राको क्रममा आडलिएर बाँचेको रुखलाई सुम्सुम्याउदै, रात बिताएको ओढार नियाल्दै उहिया पुग्ने धोको छ । उहिया गाँउ साच्चिकै सुन्दर छ । अनि त्यहाँका गाँउलेहरु पनि असाध्यै मिजासिला । जीवन भर याद आइरहने खालका ।




