
आफै सावधान हुनुको बिकल्प छैन
सोमबार धारापानीस्थित एउटै खलकका १२ जनामा कोरोना देखियो । केही दिनअघि तीनधारे र हरमटारीमा पनि कोरोना संक्रमित भेटिएका थिए ।
यसरी हेर्दा गोरखा सदरमुकाम बजार अब सुरक्षित रहेन । बाक्लो जनघनत्व रहेको गोरखा बजार अब कोरोना महामारीको घेरामा परेको छ ।
जो नजिक प¥यो, उसैलाई समात्ने, जसलाई छोयो, उसलाई समात्ने यो रोगको प्रकृति रहेको छ । त्यसैले यो बेला आफै भौतिक दुरीमा रहेर र मास्क प्रयोग गरेर सुरक्षित रहनुको बिकल्प छैन ।
बिरामी हुदैमा पनि मरिहालेको घटना त अत्यन्त न्यूनप्रतिशत बाहेक अन्यत्र देखिएन । त्यसैले अत्यन्तै हतोत्साही हुनुपर्ने, आत्तिएर छटपटाइहाल्नु पर्ने कारण त केही छैन । किनभने सोमबार राती अबेरसम्मको तथ्याङ्क अध्ययन गर्दा नेपालमा हाल संक्रमितको संख्या ४७ हजार दुईसय ३६ रहेको छ । मृतकको संख्या तीनसय र निको भएर घर फर्केकाको संख्या ३० हजार छसय ७७ रहेको छ । आइसोलेशनमा रहेका अरुहरु पनि छिट्टै निको भएर घर फर्कनेछन् ।
यसो भन्दैमा असाध्यै ढुक्क हुनुपर्ने अबस्था पनि छैन । कोरोना संक्रमणले जुनसुकै उमेरसमुहका मान्छे पनि मरेको अबस्था हामी सामु छ । नजिकैको उदाहरण मझुवाका ३८ बर्षीय मृतक छन् ।
अब संक्रमितको संख्या यति धेरै हुदै गएको छ कि, सरकारले अब यसरी नै थपिएका संक्रमितलाई आइसोलेशनको व्यवस्था गर्न नसक्ने अबस्था आइसकेको छ । अहिले झैँ, कन्ट्याक टूेसिङ र नमूनाको रुपमा भन्दै पिसिआर परीक्षण गर्न पनि नसक्ने अबस्था आउन लागेको छ । यो अबस्थालाई नजिकबाट नियाल्दै अब सबले आफै सतर्क रहने, आफै बच्ने उपाय अपनाउनु नै असाध्यै उपयुक्त हुनेछ ।




