नाम नबिगारीदिन दुर्गमबासीको अनुरोध
गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे र हिमाली गाउँपालिका चुमनुब्रीका बासिन्दामा ‘तल्लो भेगकाले नाम बिगारिदिएको’ बारे साझा समस्या छ । कर्मचारीहरु प्राय तल्लो भेगका हुन्छन् ।
माथिल्लो भेगका बासिन्दाले गरेको उच्चारणलाई मिहिन तरिकाले नसुनी अन्दाजमा नाम लेख्दा कागजैपिच्छे फरक फरक नाम पर्न गएको छ । त्यति मात्र होइन, एउटा हुनपर्नेमा अर्कै नाम भएको छ ।
वुधबहादुरको नाम पुतबहादुर भएको छ । अन्तरेको नाम आन्द्रे भएको छ । राछेन गुम्बाको नाम राजेन भएको छ । कतै डुण्डुप भएको छ, कतै ढुण्डुप भएको छ, कतै ढुण्ढुप । कतै दावा, कतै धावा आदि इत्यादि ।
एउटै मान्छेको नाम नागरिकतामा एउटा, लालपूर्जामा अर्को, राहदानीमा अर्को, उपभोक्ता समितिमा एउटा, वैँक खातामा अर्को भइदिँदा झण्झटै झण्झट, तनाबै तनाब हुन्छ ।
पछि सच्याइदिने नाममा खाजाखर्च पाउने आशाले कतिपयले जानाजान नाम बिगारेको उदाहरण पनि छन् । तिब्बती भाषाका शव्द, वर्ण नेपाली भाषामा नहुने भएकाले लेख्न नजानेर पनि यस्तो भएको हुन्छ । नागरिकता बनाउन गएको टोलीमा हुलचाल हुँदा राम्ररी नसुनी लेखेकाले पनि बिग्रिएको हुनसक्छ ।
बिग्रनुको कारण जे भएपनि दुर्गमका निराक्षर समुदायलाई नाम बिग्रिने समस्याले धेरै नै दुख दिने गरेको छ ।
नाम सच्याइदिने प्रलोभनमा पारेर बिचौलियाले आर्थिक ठगी गरेको उदाहरण त झन बग्रेल्ती छन् । त्यसैले कर्मचारी बर्गले दुर्गमका बासिन्दामाथि कुनै पनि आग्रह, पूर्वाग्रह नराखी राम्ररी सुनेर, सहयोगी डकुमेण्ट राम्ररी पढेर मान नाम कायम गरिदिनुपर्छ । अन्यथा हप्तौ खर्च गरेर सदरमुकाम आएका उनीहरु पिडितमाथि झन पिडित हुनेगर्छन् ।




