| सोमवार, कार्तिक २३, २०८३

जनजीवन सहज बनाऊ

वैज्ञानिक चमत्कार गरिरहेको विश्व यतिबेला कोरोना भाइरससंग त्राहिमाम छ । विश्व विजयको शंखनाद गरिरहेका शासकहरु पनि कोभिड १९ संग बाँस झैँ लत्रिएका छन् ।

यो परिवेशमा नेपाल र नेपाली जस्ता अल्पविकसित मुलुक र यहाँका नागरिक कोरोनासँग कति डराएका छन्, शव्दमा वणर्न गरेर साध्यै छैन ।

तर परिवेश अर्को पनि छ । अहिले कोरोनाका कारण देशभर निषेधाज्ञा छ । राजधानी सहर ठप्पप्राय छ । दुर दराजका कैयौँ नेपालीको चुल्हो बल्न छाड्ने बेला भएको छ । राजधानीमै दैनिक मजदुरी गरेर छाक टार्नेको अबस्था दर्दनाक छ । मध्यमवर्गीयको अबस्था पनि कम्ति कठिन छैन ।

यो बेला सरकारको सम्पूणर् ध्यान कोरोना व्यवस्थापनमा जानु जरुरी मात्र होइन, अत्यन्त जरुरी छ । राज्यसत्ता र पार्टीसत्ताको छिनाझप्टी क्षणिक हुन् । तर सत्तासीन पार्टी यही क्षणिक छिनाझप्टीमा व्यस्त छ । प्रतिपक्षीहरु पनि सरकारलाई सही मार्गमा ल्याउन सक्षम छैनन् ।
यो अबस्थामा जिल्लाका शासकहरु पनि जसरी हुन्छ निषेधाज्ञा जारी गरी जिल्लाको अबस्था शान्तपूणर् बनाएर तनाममुक्त हुन खोजिरहेका छन् । यो वुद्धिमानी होइन । कोरोना न्युनिकरण तथा नियन्त्रण गर्न भौतिक दुरी कायम गर्नुपर्छ । विश्व स्वास्थ्य संगठन तथा कोरोना महामारी केन्द्रीय संकट व्यवस्थापन केन्द्रले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । यसमा कुनै दोराय छैन । किन्तु साँझ बिहान चुल्हो नबल्ने बनाएर जनजीवन अस्तव्यस्त बनाउनु हुदैन ।

जनजीवनलाई पनि सुचारु गर्ने, रोगलाई पनि रोकथाम गर्ने उपाय अहिलेको आवश्यकता हो । यो कसरी सम्भव हुन्छ ? छलफलको बिषय हो । शासकहरु, जनस्वास्थ्य विशेषज्ञहरु, समाज विज्ञान बुझेका, मानव विज्ञान बुझेकाहरु बसेर यसको निश्कर्ष निकाल्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्