कोरोनासँगै डेँगुबाट पनि बचौँ
अरु प्राणीका तुलनामा मानव जगतलाई धेरै चुनौतिहरु छन् । अनगिन्ति रोग, महामारीहरु मानव जगतलाई नै । अनगिन्ति प्राकृतिक तथा मानव निर्मित विपतहरु मानव जगतलाई नै ।
अहिले विश्वभरका मान्छेहरुले एकैसाथ कोरोना महामारीको सामना गरिरहेको छ । दैनिक लाखौं संक्रमित बनिरहेका छन् । अहिलेसम्म करिब नौ करोड जना यस महामारीबाट संक्रमित भइसकेका छन् ।
गतबर्ष नेपालमा डेँगु महामारी फैलियो । पर्यटकहरु नेपाल आउन डराए । पर्यटन क्षेत्र नराम्ररी प्रभावित भए । यसबर्ष त झन् विश्वव्यापी कोरोनाले पर्यटन मात्र होइन, सबै क्षेत्र तहसनहस भए ।
पेशा, व्यवसाय, अर्थतन्त्र तहसनहस भएपनि मान्छेहरुलाई कोरोनाबाट कसरी जोगिने भन्ने चिन्ता बढि छ । जोगिने उपायहरु जानेको महिनौ भए पनि दैनिक कोरोना संक्रमण फैलिने बारे बिभिन्न नयाँ तथ्यहरु आइरहेका छन् । समाचार सत्य हो वा झुठ, कोरोना महामारी अझै भयाबह हुने भन्ने राष्ट्रसंघको भनाइ बारे समाचार आइरहेका छन् । यसले मानव जगतलाई त्रस्त पारेको छ ।
यही बेला डेँगु पनि फैलिएको छ । गतबर्ष यसको भयाबह स्वरुप देखेको हो । गोरखाका एकजनालाई पनि डेँगु संक्रमण देखियो । अहिले उनी भरतपुर स्थित एक अस्पतालमा उपचाररत छन् । यसबाट जोगिनु पनि चुनौतिपूणर् छ ।
लामखुट्टेको टोकाइबाट बच्नु यसबाट बच्ने प्रमुख उपाय हो । त्यसका लागि पानी जम्न नदिनु, लामखुट्टे फैलिने वातावरण बन्न नदिनु, लक्षणहरु देखिनासाथ अस्पतालमा वा स्वास्थ्यकर्मीको परामर्शमा घरमै उपचार गर्नु पर्ने हुन्छ । छ महिनादेखि कोरोनाबाट बच्ने अभ्यास र गतबर्षदेखि डेँगुबाट बच्ने अभ्यास गर्दा अब प्राय सबै आफ्नो व्यक्तिगत स्वास्थ्य तथा सरसफाइमा पारंगत भएकै हुनुपर्छ । नभएको भए पनि सचेत रहौं, सजग बनौँ ।




