| सोमवार, कार्तिक २३, २०८३

जहाँतहीँ लापार्बाही, विकास कसरी सम्भव ?

‘हाम्रा बा पैसा नभएर गरीब भएका होइनन्, वुद्धि नभएर हो’, एक साथीले भन्थे । नेपालको सन्दर्भमा पनि यो कथन सुहाउँछ । नेपाल पैसा नभएर मात्र गरीब भएको होइन । देश हाँक्ने शासक, मन्त्री, राजनीतिक दलका नेता, कर्मचारी, ठेकेदार, व्यापारी र सर्वसाधारण सबै यसका दोषी हुन् ।

बिगत दस बर्षको विकास प्रक्रिया अध्ययन गर्दा देखियो, कहिले अस्थीर सरकारका कारण विकास हुन सकेन । कहिले संघ सरकारले समयमा बजेट ल्याउन नसकेर विकास भएन । कहिले प्रतिपक्षी दलले महिनौँसम्म संसद अवरुद्ध गरेका कारण विकास हुन सकेन । कहिले चुनाबी बर्ष भएका कारण विकास हुन सकेन । कहिले लगातारको बन्द हड्तालका कारण, कहिले भूकम्प, कहिले नाकाबन्दी, कहिले कोरोना आदि इत्यादि ।

२०७४ को चुनाबपछि स्थिर सरकार बनेको छ, दुईतिहाइको । अहिले कोरोनाका कारण विकास निर्माणको काम ठप्प छ । तर त्योभन्दा अघिल्लो बर्ष विकास हुन नसक्नुमा के कारण पर्‍यो त्यस्तो ? तैपनि विकासको रफ्तार न्यून भयो ?

कार्यालय ठेक्का लगाउँछ । व्यवासायीलाई साइट दिदैन । साइट दिन्छन्, काम दिन्छन्, तर समयमा कामको मूल्यांकन गर्न आउँदैनन् । कुनै ठेकेदार ठेक्का लिन्छन्, सम्झौता गर्न आउँदैनन् । कुनै ठेकेदार ठेक्का लिन्छन्, सम्झौता गर्छन् तर कामै नगरी बर्ष बिताइदिन्छन्, अवधि गुजारिदिन्छन् इत्यादि ।

त्यतिमात्र होइन, कुनै बेला सरकारले कार्यक्रम पठाउँछ तर बजेट पठाउँदैन । यो लापार्बाही हो । जस्तो बिगत बर्षमा गोरखामा एकसय पाँचवटा गुम्बा बनाउने कार्यक्रम पठायो, तर बजेट पठाएन । ४६ वटा स्वास्थ्य संस्था बनाउने कार्यक्रम पठायो, बजेट पठाएन । यस्तो लापार्बाहीका कारण देश विकास नभएको हो ।

प्रतिक्रिया दिनुहोस्