नाकामा कडाइ गरी जिल्ला भित्रको गतिविधि खुकुलो बनाउने कि ?
कोरोना महामारीका कारण कहिले लकडाउन, कहिले सटडाउन, कहिले निषेधाज्ञा, कहिले के भनेर नागरिकहरु घरभित्रको भित्रै भएको धेरै महिना भयो । आधाआधी असार र साउन पूरै गरी करिब डेढ महिना केही हल्का भएको थियो, फेरि भदौदेखि कडा निषेधाज्ञा छ । जसका कारण जनजीवन ठप्प छ । अर्थतन्त्र ठप्प छ ।
भारतमा कोरोनाको प्रकोप व्याप्त भएका कारण नेपालमा पनि अनियन्त्रित रुपमा बढ्ने संत्रासले जनजीवन ठप्प बनाइएको हो ।
हाल गोरखामा जम्मा दुई जना मात्र कोरोना संक्रमित छन् । करिब छ महिनाको अवधिमा संक्रमितको संख्या एकसय २० पुगेको छ । जसमध्य एकको मृत्यू भएको छ । बाँकी सबै लक्षण नै नदेखिइकन संक्रमणमुक्त बनेर घरघर गइसकेका छन् । हरमटारीका कन्ट्याक टूेसिङका पनि कसैमा कोरोना देखिएन, लक्ष्मीबजारको समस्या पनि अहिले निदान भइसकेको अबस्था छ । किन्तु निषेधाज्ञा जारी छ ।
एकसाताका लागि सरकारले आव्हान गरेको निषेधाज्ञा हो, पालना गर्नुपर्छ । उल्लंघन गर्नुहुदैन । त्यसमाथि पनि मास्क लगाउने, सेनिटाइजर लगाउने, व्यक्तिगत दुरी कायम गर्ने भनेको त अरुका लागि होइन, आफ्नै लागि हो । त्यसैले एकसाता संयमित भएर निषेधाज्ञा पालना गर्नुपर्छ ।
अहिले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा आव्हान गरिएको छ । किनभने उपत्यकामा कोरोना संक्रमणको वृद्धिदर भयावह नै छ । तर गोरखामा त्यस्तो अबस्था छैन । त्यसैले एकहप्ता पूरा भएपछि सीमानामा कडाइ गरेर जिल्लाभित्र आर्थिक, सामाजिक गतिविधिमा केही खुकुलो गर्नु उचित हुन्छ भन्ने सर्वसाधारणको माग छ ।
विदेशको अभ्यास हेरेर व्यक्तिगत सरसफाइ, सावधानी, सतर्कता अपनाउँदै अन्य गतिविधि खुकुलो गर्नुपर्ने सर्वसाधारणको माग जायज पो छ कि ?




