जोखिम बस्ती यथाशीघ्र पुनस्थापन गर
भूकम्पअघि र भूकम्पपछि पनि गोरखाका धेरै गाउँबस्ती पुनस्थापन गर्नुपर्नेको सूचीमा छ । राष्टिूय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार पहिरोको जोखिमका कारण पुनस्थापना गर्नुपर्ने घरधुरीको संख्या गोरखामा अझै एकहजार दुईसय ६१ घरधुरी छन् । तर अहिलेसम्म तीनसय ६३ घरधुरी मात्र सुरक्षित ठाउँमा पुनस्थापित भएका छन् ।
लाप्राकको छसय १६, केरौंजाको चारसय १५, खानीगाउँको एकसय १३, बारपाक सुलीकोट गाउँपालिका १, २ र ३ को ५७, चुमनुब्री ३ देवलको २४, अजीरकोट ५ को ३४, आरुघाट र उहियाको एकएक घर पहिरोको जोखिममा रहेको कार्यालयको अभिलेखमा छ ।
कार्यालयका अनुसार केरौंजाका दुईसय ६९, देवलका १८, बारपाक सुलीकोटका २२ र अजीरकोटका ३१ घरधुरी मात्र अन्यत्र पुनस्थापित भएका छन् ।
यो तथ्याङ्क भूकम्पसंग सम्बन्धित हो । त्यसपछि पनि पहिरोका कारण धेरै घरधुरी जोखिममा छन् । उनीहरुलाई पुनस्थापित गर्नुपर्ने टड्कारो अबस्था छ । जस्तो चुमनुब्री गाउँपालिकाको छुले गाउँका करिब ४० घर, सिर्दिबासको घट्टेखोला नाग्चेतका घरहरु, धार्चे २ रुञ्चेतका ४० घर पनि पुनस्थापित गर्नुपर्ने अबस्थामा पुगिसके तर तिनीहरु यसअघिका सूचीमा छैनन् । यस्ता संख्या अरु पनि छुटेका छन् । तिनीहरुको संख्या एकिन गरी पुनस्थापन गर्ने प्रक्रिया सुरु गर्नुपर्छ । अन्यथा गतहप्ता सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ गोल्चेलिदी बस्ती जस्तो घटना नदोहोरिएला भन्न सकिन्न ।
पहिले गाउँ सरकार थिएन, सबै केन्द्र सरकारले गर्नुपर्ने अबस्था थियो । अहिले गाउँ सरकार भएकाले आफ्नो गाउँलाई सुरक्षित राख्ने बारे सबैभन्दा अगुवाई गाउँ सरकारले लिनुपर्छ ।




