| सोमवार, कार्तिक २३, २०८३

मोडालिटी मै अन्यौल, बन्ने कहिले ?

गोरखाको पालुङटार नगरपालिका भित्रको झण्डै दुई हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने गरी सुरु गर्न लागिएको सिंचाई आयोजना कसरी बनाउने भन्ने अझै यकिन छैन । गत वर्ष सर्वेक्षण सकेर यस वर्षदेखि निर्माण सुरु गर्ने योजना कार्यालय स्थापना हुँदा थियो । कार्यालय सुुरु भएको दुई वर्ष बित्यो तर आयोजनाको कामको गती कछुवा शैलीमा चलेको छ ।

बोलपत्र आह्वान हुनुपर्ने बेला अझै प्राविधिकहरु कसरी बनाउने भन्ने ‘मोडालिटी’ मा बहस गरिरहेका छन् । सर्वेक्षण हुँदा, प्रारम्भिक अध्ययनका क्रममा हेलचेक्राई गरेकाले अहिले फेरी मोडालिटी मै बहस चलिरहेको छ । चेपेबाट ५० किलोमिटर नहर बनाएर पानी पालुङ्टार झार्न प्राविधिक दृष्टिकोणले खर्चिलो, बाँध धेरै लामो हुने भन्दै नयाँ तरिका बारे छलफल भएको छ । कसरी गर्दा छिटो, प्रभावकारी र कम खर्चमा हुन्छ भन्ने यकिन गर्न वर्षौँ लगाएपछि आयोजना निर्माण चाँही कहिले गर्ने ?

१७ वर्ष अघि देखि निर्माण सुरु भएर पुरा नभएको कुन्दुरटार सिंचाई आयोजनाको जस्तै हबिगत पालुङटार सिंचाई आयोजनाको पनि हुन सक्छ । यी दुबै आयोजना गोरखाकालागि सिंचाईका ठुला आयोजना हुन् । कुन्दुरटार सिंचाई आयोजना गोरखा नगरपालिका भित्रकोे महत्वपूर्ण आयोजना हो । कार्यालयको बेवास्था, निर्माण ब्यवशायीको हेलचेक्राई, राजनीतिक खिचातानीले यो आयोजना अझै निर्माणको क्रममा छ ।

सर्वसाधारण नागरिकलाई प्रत्यक्ष फाईदा पुग्ने यस्ता ठुला आयोजना निर्माणाको काम चाँही सँधै ढिला किन ? करोडौँ बजेट राखेर रातो किताबमा समेटिएका आयोजना समयमै बनाउन बाधक को ? यसको खोजी सेवा लिनेहरुले नगर्ने हो भने पालुङटार सिंचाई आयोजनाको हविगत कुन्दुरटारको जस्तै हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्