| सोमवार, कार्तिक २३, २०८३

शहिदलखन गाउँपालिकाको प्रशंसनीय काम

गोरखाको शहिदलखन गाउँपालिकाले गर्भवती महिलाहरुलाई वडा वडाबाट अल्ट्रासाउण्ड अर्थात भिडियो एक्सरे सेवा सुरु गरेको छ ।
गर्भवती महिलाले गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन बिभिन्न चरणमा तीन पटक सम्म भिडियो एक्सरे गर्छन । यो सेवा लिन गोरखा अस्पताल वा सदरमुकाम र आसपासका निजी मेडिकल धाउनुपर्ने बाध्यता अन्यत्र जस्तै शहिदलखन गाउँपालिका भित्रका गर्भवतीहरुलाई पनि थियो । गाउँपालिकाले दक्ष स्वास्थ्यकर्मी सहित उपकरण ल्याएर सबै स्वास्थ्य संस्थामा घुम्ती सेवा सुरु गरेपछि सदरमुकाम धाउनुपर्ने बाध्यता धेरैलाई अब हट्छ ।

सदरमुकाम सम्म आउने जाने, समय, गर्भवतीलाई यात्रा गर्दाको शारीरिक कठिनाई मात्र होईन, पैसा पनि जोगिएको छ । गाउँपालिकाले वडाबाट भिडियो एक्सरे सेवा निशुल्क दिन्छ । अस्पताल जाँदा एक्सरे गर्दा धेरै पैसा खर्च हुन्छ भन्ने बुझाई भएका कतिपय गर्भवती जाँच गर्न नगएको हुन सक्छ । उनीहरुले गाउँकै स्वास्थ्य चौकीमा एक्सरे सेवा त्यो पनि निशुल्क पाउने थाहा पाएपछि जाँच गराउन स्वास्थ्य संस्था जानेहरु थपिनेछन ।

नियमित स्वास्थ्य संस्थामा गर्भ जाँच गराएका र अस्पतालमा सुत्केरी भएकालाई नेपाल सरकारले दिने बजेटमा पाँच हजार गाउँपालिकाले थप दिएको छ । गाउँपालिकाले गर्भवती महिला र शिशुमा गरेको यो लगानीले सर्वसाधारणलाई ठुलो राहत महशुस त भएको छ नै केही वर्षपछि पालिका भित्र निरोगी जनशक्ति उत्पादनमा यसले अर्थ राख्छ । मातृशिशु मृत्यूदरमा कमि आउँछ भने स्वास्थ्य संस्था सम्म गएर सेवा लिने चेतना स्तर बढ्छ । यस्ता कार्यक्रम अन्य पालिकाले पनि अनुसरण गर्न सके दुर्गम ठाउँका गर्भवतीहरु समयमै अस्पताल पुग्न नपाएर अकालमा ज्यान गुमानबाट जोगिने थिए ।

प्रतिक्रिया दिनुहोस्