| सोमवार, कार्तिक २३, २०८३

बाढी पहिरो रोक्न नीतिगत चेतना आवश्यक

वर्षात रोकिएको छैन । लगातार झरी परिरहँदा जोखिम र त्रास पनि बढेको छ । मौसम पूवर्ानुमान माहाशाखाले केही दिन पानी पर्ने जनाएको छ । केही समय अघि लगातार वर्षात, त्यसपछि चर्को चाम हुँदै फेरी वर्षात चलिरहेको छ । यसले जमिन झनै कमजोर बनाउने हुँदा बाढि पहिरोको जोखिम पनि बढेको मौसमविधहरु बताउँछन् ।

यो सिजनको वर्षात सुरु भएयता गोरखाका सयौँ रोपनी खेत बाढीले बगर बनायो । यसको असर कयौँ घरलाई खाद्यान्न संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । धेरै ठाउँमा घर गोठहरु पहिरोले भत्किए । मानविय क्षती पनि भयो । कोभिड १९ को त्रासका बिच गुजारा गरिरहेकालाई वर्षात सँगै बाढी पहिरोको बिपत्तीले दुःखको आहालमा चुर्लुम्म डुबाएको छ । आर्थिक, भौतिक सँगै मानसिक क्षती ब्यहोर्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ ।

अहिले संघ, प्रदेश र स्थानीय सरकार छन् । तीन तहको सरकारले बिपत्तीबाट ठुलो क्षती ब्यहोरेकाहरुलाई सहयोग गरेपनि त्यो पर्याप्त छैन । खोला आसपासका सयौँ रोपनी खेत आउँदा वर्षको बाढीबाट जोगाउने योजना ल्याउन आवस्यक छ । पहिरोको उच्च जोखिममा वर्षौँ देखि बस्दै आएका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने योजना तीनवटै सरकारको प्राथमिकतामा पर्नुपर्छ । न कि वर्षेनी बाढीले ठुलो क्षती नगरोस् ।

कच्ची सडक जथाभावि खोल्ने नाउँमा वर्षेनी पहिरो बगेको छ । सडक अवरुद्ध भएका छन् घर घडेरी पहिरिएको छ । बिजुलीका पोलहरु ढल्न ठिक्क परेको छ । यी यावत समस्या न्यूनिकरणको लागि स्थानीय सरकारले नीतिगत रुपमा पहल सुरु गर्नुपर्ने देखिन्छ । अन्यथा वर्षेनी जनधनको क्षती ब्यहोर्नु बाहेक अन्य बिकल्प हामीसँग रहँदैन ।

प्रतिक्रिया दिनुहोस्