अबरुद्ध भएका ग्रामीण सडकहरु सुचारु गराऊ
गतहप्ताको झरीपछिको पहिरोले गोरखाका अनगिन्ती सडकहरु भासिएका छन् । कैयौँ सडकहरु माथिबाट झरेको पहिरोले पुरिएका छन् । कैयौं सडकका पुलहरु भत्किएका छन् ।
सहर जोड्ने मुख्य राजमार्गहरु खुलाउने काम जोडतोडका साथ भइरहेका छन् । तर ग्रामीण सडक मर्मतको कामले त्यति गति लिएको छैन । उदाहरणको रुपमा अँबुवा बिर्दी सेरा सडक अवरुद्ध भएको आज ११ दिन भइसकेको छ । तर अझै पनि खुलाउने प्रयास भएको छैन ।
यो त एउटा उदाहरण मात्र हो । ग्रामीण सडकको पनि मुख्यमध्यकै सडकहरु पनि अबरुद्ध नै छन् । गोरखा बारपाक सडक सुचारु छैन । गोरखा आरुघाट सडक सुचारु छ, तर अनगिन्ति ठाउँका पहिरोहरु छिचोलिनसक्नु छ ।
केही बर्षअघिसम्म अबरुद्ध सडक सुचारु गराउन जिल्लाले नै हेर्नुपथ्र्यौ । तर अहिले स्थानीय सरकार छ । आफै निर्णय गर्ने, आफै काम गर्न सक्ने अधिकार सम्पन्न स्थानीय सरकार छ । स्थानीय सरकाले धमाधम निर्णय गर्दै अबरुद्ध सडक खुलाउने काम अघि बढाउनु पर्छ । रोक्ने छेक्ने कोही छैन ।
सडक अबरुद्ध हुँदा बिरामी बोकेर एम्बुलेन्स आउजाउ गर्न सक्दैन । खाद्यान्न बोकेका टूक, ट्याक्टर आउजाउ गर्न सकेको छैन ।
ठूला पुल भत्किएमा प्रदेश वा केन्द्रकै बजेट पर्खनु पर्ला तर ग्रामीण सडकका ससाना कल्भर्ट खालका पुलहरु मर्मतका लागि स्थानीय सरकारसंग भएको बजेट खर्च गर्नु सकिन्छ । तसर्थ जनताको मन जित्ने गरी धमाधम अबरुद्ध सडक खुलाउनु अहिलेको आवश्यकता हो ।




