| सोमवार, कार्तिक २३, २०८३

प्रगति गर्नेलाई भन्दा देख्नेलाई लाज

गोरखा सदरमुकाममा रहेको एक सरकारी कार्यालयको गत आर्थिक बर्षको प्रगति विवरण हेर्दा लाजमर्दो देखिएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई कार्यालयको गत आर्थिक बर्षको प्रगति विवरण हेर्दा प्रगति गर्नेलाई भन्दा देख्नेलाई लाज हुने अबस्था छ ।
गतवर्ष १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यो पनि अधिकांश तलब भत्ता तथा मसलन्द आदिमा खर्च भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयको छ करोड रुपैयाँ बजेटमा एक करोड १२ लाख मात्रै खर्च भएको छ ।

प्रगति गर्न नसक्नुको दोष भने कार्यालयले कोरोनालाई दिएको छ । चैतसम्म प्रगति नगरी बसेको कार्यालयले जब लकडाउन सुरु भयो, तब काम गर्न सकिएन भन्ने दाबी गर्छ ।

२०७६ सालको बैशाख २५ गते स्थापित सो कार्यालयले गोरखाको बारपाक सुलिकोटमा चार हजार एक सय ४० घरधुरी र गण्डकी गाउँपालिकाका तीनहजार दुई सय ३९ घरधुरी किसानलाई पोषण सुरक्षाको व्यवस्था गर्ने त्यस्तै बेनिघाट रोराङका तीन हजार पाँच सय ८१ र गजुरी गाउँपालिकामा तीनहजार पाँच सय लाग्राहीका लागि काम गर्ने लक्ष्य राखेको थियो ।

तर लाभग्राही छनौट गर्दागर्दै कोरोना महामारी सुरु भएकाले काम गर्न नसकेको कार्यालयको दाबी छ । साथै चालु आर्थिक बर्ष तीब्र गतिमा कार्यक्रम गर्ने जनाएको छ ।

कोरोना महामारीका बाबजुद पनि खटिने कार्यालयहरु पनि जिल्लामा छन् । कृषि ज्ञानकेन्द्रले कोरोनालाई बहाना बनाएर कार्यक्रम रोकेन । यस्ता अरु कार्यालय पनि छन् । तर कोरोनालाई देखाएर पटक्कै कार्यक्रम नगर्ने कार्यालयहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस्