| सोमवार, कार्तिक २३, २०८३

सतिपिपलको पहिरो चाँडो नियन्त्रण होओस्

यो बर्षको बर्षात पहिरो लैजाने खालको छ । जताततै बाढी र पहिरोले धेरै घरबारी, खेत बगाएको छ । धेरैलाई बिल्लीबाठ बनाएको छ । धेरैलाई सुकुम्बासी बनाएको छ । गोरखाकै हकमा पहिरोले दुई जनाको मृत्यू भएको छ । धेरै रोड, पुलमा क्षति पु¥याएको छ ।

लगातारको बर्षातले गोरखा सदरमुकामको सतिपिपल बजारको अन्तिमतिरको टोल पहिरोको जोखिममा छ । करिब दुईसय मिटर तलदेखि झरेको पहिरोका कारण सतिपिपलबाट काफलघारी जाने र नारेश्वरतर्फ जाने नेरका केही घर समेत पहिरोको जोखिममा परेका छन् ।
उनीहरु रातमा ढुक्कले सुत्न नसक्ने, दिनमा निर्धक्क बस्न नसक्ने गुनासो गर्छन् ।

सतिपिपलबाट देवीमाई टोल, ढाँड टोल, काफलघारी टोल जाने बाटो सो पहिरोले बगाएको छ । बाटो नहुँदा देवीमाईटोल, काफलघारी, ढाँड, स्वाँरा, घलाङ, बेनिखोलाका बासिन्दालाई बजार आवतजावतमा समस्या भएको छ ।

सदरमुकाम नजिकै रहेर पनि मोटरबाटोको सेवा सुविधा नभएको सो गाउँका बासिन्दा पैदल हिड्ने बाटो पनि बगाएपछि चिन्तित छन् । बजार क्षेत्रमै बत्तिमुनि अँध्यारोको रुपमा आफ्नो गाउँलाई राखिदिँदा आक्रोशित पनि छन् ।

यसअघि नै मैदानबाट सडक निर्माण गरिदिन बारम्बार माग गर्दा पनि नीति निर्माण गर्ने तहले कानमा तेल हालेर बसेको उनीहरुको गुनासो छ ।
साथै सोही पहिरोले भीरपानी कुवालाई नष्ट गरेको छ । सतिपिपल, पोखरीथोक, देवीमाईटोल, ढाँडका बासिन्दाले उपभोग गर्दै आएको पानी पहिरोले पुरिँदा उनीहरुलाई खानेपानी आपूर्तिमा समस्या भएको छ ।

पहिरो नियन्त्रण गर्ने वडा कार्यालयको पनि जिम्मेवारी हो । वडा कार्यालयको बजेटले नधान्ने भयो भने नगरपालिका कार्यालयले उनीहरुको मागको सम्बोधन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्