| सोमवार, कार्तिक २३, २०८३

तीनखण्डेका पहिरो पिडितलाई घर घडेरीको खाँचो

गत हप्ताभरिको अविरल बर्षाले धेरै जनधनको क्षति गरेको छ । गोरखा पनि पहिराकै कारण दुई जनाको मृत्यू भएको छ । घर धेरैजनाको बगेका छन् । तथ्याङ्क निकाल्न बाँकी नै छ ।

खेतबारी कतिका बगे, कृषि ज्ञानकेन्द्रले तथ्याङ्क निकाल्दै छ । धान तथा कोदो रोपेका खेत र बारी, भित्रिने बेला भएका मकै मात्र नष्ट भएनन्, खेत बगर बनेका छन् । बारी पहिरिएर नामेटै भएका छन् ।

कैयौं सडक, पुल भत्किएका छन् । कैयौँ खानेपानी योजना क्षतविक्षत छन् । जङ्गल वन सम्पदा पनि धेरै क्षति भएको छ । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म नौली खोला थुनिएर त्यसतलका बासिन्दा तनाबमा रहे ।

सबैतिर राहत, क्षतिपूर्तिको आवश्यकता छ । विकास निर्माणमा लगाउनु पर्ने राज्यको ठूलो परिमाणमा बजेट यसबर्ष पनि यस्तै काममा खर्च हुने भएको छ ।
तीनखण्डेका तीन घर बगेका छन् । अरु चार घर पनि जोखिममा छन् । उनीहरु सो ठाउँ छोडेर अन्यत्रै गएर बसेका छन् । गरैपिच्छे पहिरो छ । हेर्दा हेर्दै पहिरो खसिरहन्छ । त्यसैले उनीहरुलाई सरकारले भौगर्भिक अध्ययन गरी तत्काल बसोबासका लागि योग्य स्थानको व्यवस्था गर्नुपर्छ ।

अहिले बसिरहेको ठाउँ पुन पहिरो जान सक्ने वा नजाने बारे भौगर्भिक अध्ययन गरी सरकारले कि सामुहिक रुपमा स्थानान्तरण गर्नुपर्छ, कि बस्न उपयुक्त छ भनेर किटान गर्नुपर्छ ।

अरुको कुरा पछि । पहिलेचाहिँ घर गुमाएका तीन र उच्च जोखिममा रहेका चार जनाका लागि बसोबास गर्ने थलोको व्यवस्था गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्