| सोमवार, कार्तिक २३, २०८३

जथाभावी सडक खन्दा अथाह क्षति

आइतबार, सोमबार र मंगलबार तीनदिनको अबिरल बर्षाले जताततै बाढी र पहिरो गएको छ । कैयौँले ज्यान गुमाए, कैयौँले घर । कैयौँले जग्गा जमिन गुमाए, कैयौँले पशुचौपाया । कैयौँ सडक पहिरिए, कैयौँ पुल भत्किए ।

कति क्षति भए, नापजोख हुन सकेको छैन । तर अब यथासीघ्र जनधन, घर, जग्गाजमिन, चल अचल सम्पत्ति, नीजि, सरकारी, सामुदायिक क्षतिको तथ्याङ्क निकाल्नु पर्छ । र राज्यले राहत क्षतिपूर्ति, पुनर्निर्माण, पुनस्थापनाको काम गर्नुपर्छ ।

केही बर्षदेखि भूकम्पको करेस काटिरहेका नेपालीले फेरि कोरोनाको बिपत सामना गर्दै थिए । यही बीचमा विध्वंसात्मक बाढी र पहिरोको सामना गर्नुपर्‍यो । यसले नेपाल र नेपालीले ठूलै क्षय सामना गर्नुपरेको छ ।

क्षति व्यक्ति, समुदाय र सरकार सबैलाई भएको छ । कैयौँ पक्की संरचना क्षतविक्षत भएकाले पुनर्निर्माण गर्नुपर्ने भएको छ । जसले गर्दा राष्ट्रिय ढुकुटी खर्च हुनेछ । त्यस्तै नीजि सम्पत्तिको पनि क्षति भएको छ । जसलाई कसैले पुनप्राप्ति गर्न सक्छ, कसैले सक्दैन । उनीहरुलाई राज्यको ढुकुटीबाट राहतको व्यवस्था गर्नुपर्ने भएको छ ।

बाढी पहिरोको प्रभावको अवलोकन गर्दा अधिकांश ठाउँमा अव्यवस्थित सडक निर्माणका कारण क्षति भएको देखिन्छ । सडक खन्दा निस्केको माटो, ढुंगा वा अव्यवस्थित घर, भवन निर्माण गर्दा निस्केको ढुंगा माटो पानी पर्दा बग्दैजाँदा धेरै ठाउँ पुर्ने तथा बगाउने भएको देखियो । त्यस्तै सडक निर्माण गर्दा भएको भूक्षयले थप क्षति निम्त्याएको पनि देखियो ।

त्यसैले अबका दिनमा विकास निर्माणको काम गर्दा सम्भावित क्षतिको आँकलन गरी कम क्षति हुने गरी काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्