| सोमवार, कार्तिक २३, २०८३

रोटरी क्लव अफ गोरखासंग सिक्ने कि ?

रोटरी क्लव अफ गोरखाले मंगलबार एक समारोहका बीच ‘गोरखा क्याम्पसको आइसोलेशनमा बस्नेहरुलाई खानेपानीको व्यवस्था गर्ने’ घोषणा गर्यो ।
कोरोना महामारीसँग सामुहिक रुपमा लड्न सो क्लवले गरेको घोषणा यो समयका लागि अत्यन्त सान्दर्भिक, महत्वपूणर्, उदाहरणीय र फलदायी पनि छ ।
यो बेला नेपालमा मात्र नभै विश्वभर नै कोरोना महामारीको संत्रास छ, आतंक छ । सामाजिक सम्बन्धमा आँच आएको छ । आममा जीवन रक्षाको चुनौति छ । हातमुख जोर्नलाई भन्दा बाँच्नलाई प्राथमिकता दिने गरिएको छ । त्यसैले विश्वको आर्थिक गतिविधिलाई सलहले गाँजेको छ ।

विकास निर्माण, उद्यम, शिक्षादीक्षा, पूजापाठलगायत अन्य गतिविधि त अहिले प्राथमिकताको गन्तीमै परेका छैनन् । सबैको पहिलो प्राथमिकतामा बाँच्ने र दोस्रो प्राथमिकतामा बचाउने परेको छ । त्यसैले रोटरी क्लव अफ गोरखाले गरेको यो निणर्य सबैका लागि आभारको बिषय बनेको छ ।

यतिबेला स्थानीय सरकारसंग मिलेर कोरोना व्यवस्थापनमा सहयोग गर्नुपर्छ । आइसोलेशन सञ्चालनका लागि मद्दत गर्नुपर्छ । कोरोना व्यवस्थापन गर्दागर्दै स्थानीय सरकार हैरान भएको अबस्थामा यदि कसैलाई समाज सेवा गर्ने रहर छ भने यतिबेला कोरोना व्यवस्थापनकै बिषयमा काम गर्नु जात्ति हुन्छ ।

केही नगर्नुको तुलनामा खाद्यान्न बाँड्नु ‘केही’ चाहिँ हो तर ठूलो कुरा होइन । खाद्यान्नै दिए पनि क्वारेण्टाइनमा, आइसोलेशनमा बस्नेका लागि दिनुपर्ने अबस्था आइसकेको छ । बिभिन्न ठाउँमा क्वारेण्टाइन बनाउन, आइसोलेशन बनाउन सघाउनु पनि ठूलै गुन हुनेछ । त्यसैले अब सामाजिक काम गर्न चाहनेले गम्भीर रुपमा सोचेर कोरोनासँग सामुहिक रुपमा लड्ने योजना बनाउनु वुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्