| सोमवार, कार्तिक २३, २०८३

वृक्ष रोप्ने मात्रै कि हुर्काउने पनि ?

यसबर्ष पनि वन डिभिजन कार्यालय, साबिक जिल्ला वन कार्यालयले ६६ हजार विरुवा रोपणका लागि जिल्ला भित्र्याएको छ । यो विगत बर्षकै निरन्तरता हो । प्रति बिरुवा रु १० का दरले बर्षेनी रु छ लाख ६६ हजार भन्दा धेरै वृक्ष रोपणमा मात्र खर्च हुन्छ ।

सरकारले पनि जन्माउनमा मात्र बजेट दिन्छ, हुर्काउन, बढाउनमा दिदैन । यो बुझेर हुर्काउन, बढाउनमा स्थानीय स्तरले व्यवस्थापन गरे नि हुने, तर स्थानीय स्तरले पनि रोपणमा मात्र चाख देखाउँछ ।

यो मात्रै होइन, अधिकांश कार्यक्रम देखाउनका लागि गरिन्छ । जसै असार १५ मा धान दिवस मनाइन्छ । उव्जनी लक्ष्यित भन्दा पनि राम रमिताका लागि धान दिवस मनाएको दृष्यसँग सबै साक्षातकार छौं । अन्य कार्यक्रम पनि परिणाममुखी भन्दा पनि सेल्फी खिचाउनका लागि गर्ने गरिएको पाइन्छ ।

वृक्षरोपण पनि यो संस्कृतिभन्दा माथि उठ्न सकेन । हरेक बर्ष रोपिएको विरुवा यदि हुर्किदो हो त, यति बेला कुनचाहिँ ठाउँ खालि रहन्थ्यो र ? तर रोपिन्छ, छाडिन्छ । गाईबस्तु चराइन्छ । ठुटो पनि नरहने गरी उसले खाइदिन्छ । फेरि त्यही ठाउँमा अर्को बर्ष रोपण गरिन्छ । एवं रीतले बर्ष बितिरहेको छ ।

सन् २०१२।०१३ मा लायन्स क्लव अफ गोरखाले दीर्घकालीन लक्ष्य राखेर वृक्ष रोपण गरेको थियो । व्यक्तिसंग रकम लिने, उसको नाउँमा विरुवा रोप्ने । हुर्काउने, बढाउने लक्ष्यसहितको यो योजना पनि तुहियो । यदि यसलाई निरन्तरता दिन सकियो भने नयाँ ठाउँमा विरुवा रोपेभन्दा फलदायी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्