| सोमवार, कार्तिक २३, २०८३

अन्त्यष्टि प्रकरणमा किन लफडा भयो, समीक्षा गर्नु जरुरी

पालुङटार नगरपालिका ७ पुर्नेपिपलका कुमाल समुदायका एकको कोरोनाका कारण शनिबार बिहान गोरखा अस्पतालमा उपचार गराइरहेको अबस्थामा निधन भयो । कतारबाट कोरोनाबाट ग्रस्त भई आएका ४४ बर्षीय ती पुरुष उपचारका लागि पोखरा जान चाहन्थे तर पोखराको कोरोना अस्पतालले उनलाई अनुमति दिएन । गोरखा अस्पताल आइपुगे । अघिल्लो दिन १० बजे आइसियुमा भर्ना भएका उनलाई गोरखा अस्पतालका चिकित्सकले बचाउन सकेनन् । अन्ततः घर जान नपाई, आफन्तजनको मुख देख्न नपाई परलोक भए ।

स्वदेश आइपुगे पनि आफन्त, परिवारजनको मुख देख्न त पाएनन्, पोखरा अस्पतालमा उपचार गराउन पनि पाएनन । मरेपछि चिहान पनि धन्नैधन्नै नपाउने अबस्था आयो ।

दरौंदी र लुदीखोलाको दोभानमा शव अन्त्यष्टि गर्ने निणर्य भएको थियो । सो निणर्यको बिरोध गर्दै शहीदलखन गाउँपालिका १ र गोरखा नगरपालिका १३ अँबुवाका बासिन्दाले दिनभर सो क्षेत्रमा प्रदर्शन गरे । नाराबाजी गरे, छेकथुन गरे, ह्युमपाइप तेस्र्याएर बाटो अबरुद्ध गरे । अबरोध हटाउने प्रहरीमाथि ढुंगामुढा गरे । प्रहरीले पनि लाठीचार्ज गर्‍यो । अश्रुग्याँस प्रहा गर्यो ।

अबरोध गर्नेमा सर्वसाधारण थिए, निमुखा महिलाहरु पनि थिए । उनीहरुलाई कुरा बुझाउन सक्ने सामाजिक अगुवा पनि थिए, पढेलेखेका पनि थिए । यति हुँदाहुदै पनि किन अवरोध भयो ? किन मान्छेहरु घाइते हुने अबस्था सिर्जना भयो ? कहाँ कसको कमजोरी भयो ? समीक्षा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्