अजीरकोटबाट सिक्ने पाठ
अजीरकोट गाउँपालिकाले कोरोना र त्यसबाट उत्पन्न लकडाउनको परिस्थितिबाट खानबस्न समस्या भएकाहरुलाई राहतस्वरुप रोजगारी दिएको छ । गाउँपालिकाले करिब एक महिनाअघिदेखि पर्यटकीय स्थल नारदपोखरी, नागेपोखरी जाने सिँडी बाटो बनाएको छ । सो बाटो निर्माणका लागि गाउँपालिकाले जो रोजगारी गुमाएर घरमा थन्किएर बसेका थिए, उनीहरुलाई अह्राएको थियो ।
यसले गाउँपालिकाको दुवै हातमा लड्डु भएको छ ।
पहिलो उपलब्धी स्थानीय न्यून आयआर्जन भएकाहरुले श्रम गरेर कमाइ गर्न पाएका छन् । लकडाउनका कारण रोजगारी गुमाएर बसेकाहरुले रोजगारी पाएका छन् । सरकारसँग वा अन्य दातासँग राहतका लागि हात फैलाउनु परेको छैन ।
दोस्रो उपलब्धी गाउँपालिकाले बिगत तीनबर्षदेखि नारदपोखरी, नागेपोखरी जाने पदमार्ग बनाउन प्रयास गरिरहेको थियो । बिबिध कारणवश सम्भव भएको थिएन । अहिले त्यो लक्ष्य पूरा भएको छ ।
नेपालीमा एकपन्थ दो काज भन्ने उखान प्रचलित छ । यो प्रसंगमा सुहाउँछ ।
अन्य विभिन्न पालिकाहरुले पनि यस्तो कामलाई अनुसरण गर्नु आवश्यक छ । जसले गर्दा राहत दिने, मान्छेमा परनिर्भरता बढाउने नभै काम गरेर खाने बानीको विकास हुन्छ ।
भूकम्पका बेला दिएको राहतको बानी छुटाउन धेरै हम्मेहम्मे परेको इतिहास छ । फेरि अहिले पहिलो चरणमा राहत दिइएको छ । अब दोस्रो चरणको राहत दिनुपर्दा सित्तै राहत नदिई काम गरेर फुडफर वर्क वा क्यास फर वर्कको अवधारणा अनुसार राहत दिनुपर्छ ।




