| सोमवार, कार्तिक २३, २०८३

मनसुन सुरु भयो, बाढी पहिरोबाट सावधान

नेपालमा मनसुन सुरु भएको छ । शनिबार रातीको भीषण बर्षा भएको छ । यो मनसुनले गण्डकी प्रदेशमा बढि प्रभाव पार्ने जल तथा मौसम पूर्वअनुमान महाशाखाको अनुमान छ ।

शनिबार रातीको बर्षातले धार्चे गाउँपालिकाका बिभिन्न ठाउँमा पहिरो गएको छ । सडक तथा बाटाहरु अवरोध भएका छन् । अन्यत्र पनि भएका हुनसक्छन् ।

भूकम्पपछि धेरै गाउँहरु पहिरोको जोखिममा रहेको भनिएका छन् । धार्चे २ केरौजागाउँ, धार्चे ७ को खानीगाउँ, आरुघाट गाउँपालिका २ को श्यामचेत, अजीरकोट गाउँपालिका १ चिसापानी लगायतका गाउँहरु पहिरोको उच्च जोखिममा छन् ।

अनुमान नगरिएका गाउँहरु पनि जोखिममा पर्न सक्छन् । गतबर्ष पनि सुरुकै बर्षातले मिरकोट, आर्खेत, श्यामचेत लगायतका धेरै ठाउँका घरहरु भत्किए, पहिरिए । त्यसअघि घैरुङको अँधेरीमा पहिरोका कारण तीनजनाले ज्यान गुमाएका थिए ।

तसर्थ कोरोनाको महामारीले पिडित भएरहेका हामी फेरि पहिरोको समेत चपेटामा पर्न सक्छौँ । त्यसैले त्यसदेखि सावधान हुनुपर्छ ।

जिल्ला विपद व्यवस्थापन समिति तथा रेडक्रस जस्ता निकायहरु, गाउँ तथा नगरपालिका कार्यालयहरुले यस्तो विपद परेमा उद्धार गर्ने बारे नीति तथा कार्यक्रम बनाइराख्नु वुद्धिमानी हुन्छ ।

विपद परेमा उनीहरुलाई दिने सहयोगी सामग्री तथा राहतको बारेमा पूर्व योजना गरिराख्दा पनि उचित हुन्छ । मानव निर्मित विपदसंग त व्यक्तिव्यक्ति लडिरहेकै छन् । प्राकृतिक विपदसंग पनि लड्न रोकथाम गर्न तथा न्यूनिकरण गर्न पनि तयारी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्