| सोमवार, कार्तिक २३, २०८३

आइसोलेशनमा खट्नेलाई होटल क्वारेण्टाइनमा राखौं

गोरखा जिल्लामा कोरोना संक्रमणको फैलावट अहिलेसम्म हेर्दा नियन्त्रण बाहिर गइसकेको देखिदैन । क्वारेण्टाइन, आइसोलेशनबाट भागेको, क्वारेण्टाइन, आइसोलेशनमा अभाव, तनाव भएका जस्ता घटना पनि देखिएका छैनन् । भीमसेन थापा गाउँपालिकाको दुईजना संक्रमित समुदायमा पुगेको दुर्घटना बाहेक अस्वभाविक र अप्रिय घटना भएका छ्रैनन् ।

आइसोलेशनमा बस्नेहरु पनि असुविधा भएको, तनाब भएको जस्ता समस्या नभएको बताउँछन् । आठ जनाका लागि एउटा मात्र सौचालय हुँदा केही समस्या देखिए पनि समग्रमा सन्तोषजनक सेवा सुविधा पाएको उनीहरुको टिप्पणी छ ।

क्वारेण्टाइनमा पनि त्यतिधेरै समस्या छैनन् । खाने, बस्ने लगायतका व्यबस्था सन्तोषजनक नै पाइएको छ ।
तर एउटा आवश्यकता भने टट्कारो छ ।

आइसोलेशनमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, संक्रमित ओसार्ने चालकलाई होटल क्वारेण्टाइनमा राख्नु उचित हुन्छ । आइसोलेशनमा काम गर्ने चिकित्सक तथा सुरक्षाकर्मीका लागि भनेर वल्डक्यापिटलस्थित आइसोलेशनमा राख्ने गरिएको छ । त्यहाँको सेवा सुविधा ठिकै हुनसक्छ तर उनीहरुलाई होटल क्वारेण्टाइनमा राख्दा थप सेवा सुविधा पाउन सक्छन् । आफ्नो पद, ओहोदा, जिम्मेवारी अनुसारको बस्ने खाने सुविधा पाउँदा उनीहरुमा धेरथोर राहत महशुस गर्नेछन् ।

काम गर्नेले अपेक्षित सेवा सुविधा पाए भने कामप्रति आकर्षण हुनसक्छ । त्यसैले त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

कोरोना शीर्षकमा खर्च बढिरहेको छ । होटलमा राख्दा थप खर्च हुने आँकलन हुनसक्छ । त्यही सापेक्षतामा जिल्लामा कोरोना ब्यबस्थापन खर्च पनि आएको छ । त्यसबाटै मिलाउने गरी पनि आइसोलेशनमा काम गर्नेलाई होटल क्वारेण्टाइनमा राख्ने ब्यबस्था गरौं ।

प्रतिक्रिया दिनुहोस्