अजीरकोटका युवाबाट सिक्ने कि ?
गाउँमा शिक्षाको विकास भयो, गाउँमा गुणस्तरीय शैक्षिक जनशक्तिको उत्पादन भयो, राम्रो कुरा हो । गाउँका युवाहरु वैदेशिक रोजगारीमा गए, राम्रो आर्थिक उपार्जन गरे, उनीहरुको र नेपालकै आर्थिक वृद्धिदर बढ्यो, यो पनि राम्रो कुरा हो ।
तर यति राम्रो कुराको पनि नकारात्मक पक्ष हुन्छ । शैक्षिक जनशक्तिलाई स्थानीय स्तरले रोजगारी दिन सकेन । उनीहरुलाई देशले पनि चित्तबुझ्दो काम दिन सकेन, फलत ः उनीहरु कोहीले गाउँ छाडे, कोहीले देशै छाडे ।
युवाले मात्रै गाउँ छाडेनन्, उनीहरुमा आश्रित श्रीमती, छोराछोरी र अन्य परिबारले पनि गाउँ छाडे । यसले गर्दा गाउँ रित्तिदै गयो । गाउँ खण्डहर बन्न थाल्यो । गाउँका उर्वर खेतबारी बाँझो हुन थाल्यो ।
यो समस्या एउटा गाउँको मात्र होइन, तमाम गाउँको हो ।
त्यसैले गोरखाको अजीरकोट गाउँपालिकाका युवाहरुले एउटा प्रयास गरेका छन्, युवाहरुलाई गाउँ फर्काउने । केही दिनअघि काठमाडौंमा सम्पन्न युवाहरुको भेलाले गाउँ फर्कने बहाना खोजे । कृषि सहकारी गठन गरी युवाहरुलाई वैज्ञानिक कृषि प्रणालीको थालनी गर्न गाउँ फर्काउने निर्णय गरे ।
यसले सँधैका लागि युवालाई गाउँ फर्काउन नसकेपनि बेलाबेला गाउँ फर्कने, कृषि सहकारीको गतिबिधिमा सहभागी हुने, गाउँका बाँझा खेतबारीमा खेतीपाती गर्ने, वैज्ञानिक ढंगले खेती गर्ने, अर्गानिक खाद्यपदार्थ उत्पादन गर्ने अबधारणा उनीहरुले अघि सारेका छन् ।
उनीहरुको होस्टेमा प्रदेश सरकारका प्रतिनिधि र स्थानीय सरकारका प्रमुखले पूर्ण समर्थन गर्दै सहयोगको प्रतिवद्धता ब्यक्त गरेका छन् ।
यो उनीहरुको प्रयासको प्रचार प्रसार गरी अन्य गाउँका युवाहरुले पनि देखासिकी गर्नु मनासिब छ । यसले मृतप्राय बन्दै गएको गाउँले पुनर्जीवन पाउने विश्वास गर्न सकिन्छ । त्यसैले सबैले यसको अनुशरण गर्नु उचित हुन्छ ।




