खोर्लाबेसीको अस्पताल छिटो बनाउ
धार्चे गाउँपालिकाको खोर्लाबेसीमा २५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि सर्वे सुरु भएको छ । अस्पताल भबन निर्माणको प्रक्रिया सुरु हुँदा चुमनुब्री, धार्चे गाउँपालिकाका सर्वसाधारण खुसी भएका छन् । छिटो अस्पताल निर्माण भएर सबैखाले उपचार सेवा दिए हुन्थ्यो भन्ने चाहना आधारभुत सेवा लिन पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयको छ ।
धार्चे र चुमुनब्रीका दुर्गम ठाउँका महिलालाई सुत्केरी हुन ठुला अस्पताल पुग्नुपर्ने बाध्यता अझै हटेको छैन । वृद्धवृद्धाहरु नजिक अस्पताल नभएको, सर्वसुलभ सेवा नपाएका कारण रोग पालेर बस्न बध्य छन् । जटिल रोग लागेर अन्तिम अवस्थामा पुग्दा हेलिकप्टर चार्टर देखि ठुला सहरमा पुगेर उपचार गर्दा लाखौँ रुपैयाँ खर्च हुन्छ ।
सक्नेले आफ्नो कमाईबाट र नसक्नेले ऋण काडेर पनि खर्च गर्दै आएका छन् । तर अब बन्ने भनिएको अस्पतालमा सुत्केरी गराउने, समान्य सल्यक्रियाका सेवा, अहिले प्रचार गरिएजस्तो विषेशज्ञ डाक्टर सहितको सेवा हुने हो भने दुर्गम ठाउँका स्थानीयले सहजै सेवा पाउने थिए । सदरमुकामका सरकारी अस्पतालमा विषेशज्ञ दरबन्दी वर्षौँ सम्म रिक्त हुँदा अस्पताल रिफर सेन्टर जस्तो बनेको छ ।
अहिले धार्चे गाउँपालिका र छायाँ नेपाल नामको गैरसरकारी संस्थाले निर्माण गर्न लागेको अस्पताल सुविधा सम्पन्न, विषेशज्ञ चिकित्सक सहितको नियमित सेवा दिने हुनुपर्छ । अहिले दुर्गम ठाउँमा सिटामल र जिबनजल बितरण गर्ने स्वास्थ्य चौकीहरु यथावत् छन् । हरेक वडामा स्वास्थ्य इकाई स्थापना गर्ने स्थानीय सरकारले योजना पनि बनाएका छन् ।
यो भन्दा धेरै गुणस्तरीय र दुर्गम भेगका सर्वसाधारणलाई अकालमा मृत्यूको मुखबाट जोगाउन विषेशज्ञ सहितको सेवा दिने योजना सहित अस्पताल छिटो बनाउनुपर्छ । कुनैपनि बाहनामा अस्पताल निर्माण रोकियो भने, निर्माण सुरु हुनु अघिदेखि बिवादमा अस्पताललाई लगियो भने सर्वसाधारणको विश्वास गुम्न सक्छ । कोरोना भाईरसबाट संक्रमितहरुलाई उपचार गराउन छ दिनमा अस्पताल तयार गरेको छिमेकी देश चिनबाट पाठ सिक्नुपर्छ । छ दिनमै तयार गर्ने साधान स्रोत हामीसँग नभएपनि पहिलो पटक तोकिएको दुई वर्ष भित्र तयार गरेर स्तरीय सेवा दिन भने चुक्नु हुँदैन ।




