गाउँ गुल्जार हुने उपाय सोचौँ
अहिले गाउँहरु खण्डहर हुदै गएका छन् । सहरमुखी हुने प्रवृत्ति बढ्दै गएका कारण गाउँहरु रित्तिने अबस्थामा पुगेका हुन् । माओवादी द्वन्द्वपछि गाउँका खान्दान परिबार सुरक्षा खोज्दै सहरमुखी भए । त्यसपछि पैसा कमाउने अनि ती संभ्रान्त परिबारको देखासिकी गर्ने परम्परा सुरु भयो ।
कि स्थायी रुपमै बसाइँ सर्ने, कोठा, वा फ्ल्याट भाडामा लिएर बच्चा पढाउने बहानामा ंसहर जाने प्रचलन अद्यापि छ । त्यसैले अहिले गाउँमा बालबालिका पनि कम छन् । युवाहरु रोजगारीका क्रममा देश वा विदेशका सहरमै छन् । उनका श्रीमती पनि बच्चा पढाउने निहुँमा सहरमै छन् । गाउँमा को छन् त ? आंशिक युवा, आंशिक बालबालिकाबाहेक प्राय वृद्धवृद्धा नै गाउँमा धेरै छन् । गाउँको यो वास्तविकता गोरखाको मात्र होइन, देशभरकै समस्या हो । यसले गाउँमा अर्को समस्या सिर्जना गरेको छ ।
अहिले गाउँका बालबालिका पढाउनका लागि स्थापित विद्यालयहरु धमाधम बन्द भएका छन् । स्वास्थ्य संस्था पनि बन्दप्राय नै छन् । बारपाक सुलीकोट गाउँपालिका ८ (साबिक पन्द्रुङ गाविस)मा यसअघि छ वटा विद्यालय थिए । एउटा मावि, अरु आधारभूत विद्यालय तर अहिले चार वटा आधारभूत विद्यालय बन्द भए, मावि पनि स्तर घटाएर आठकक्षासम्म सञ्चालित आधारभूत विद्यालय भएको छ । यो एउटा उदाहरण मात्र हो ।भूकम्पले भत्किएको भवन बनाउने क्रममा बन्द भएका विद्यालय पनि पुनर्निर्माण भएका छन् ।
आवश्यकताको अध्ययन नै नगरी सरकारी गैरसरकारी संस्थाले ढुकुटी सिध्याउने काम गरेका छन् ।गाउँ खालि हुने समस्या समाधानका लागि नयाँ पिँढीले नयाँ ढंगले सोच्नु पर्छ । सहरमा भएका प्राय सुविधा अहिले गाउँमा छन् । जस्तो कि सडक, मोबाइल, नेट आदि । तर गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा खोज्दै उनीहरु सहर गएको अनुमान गर्न सकिन्छ । यसमा अभिवृद्धि भयो भने गाउँमा थेग्न सक्ने अबस्था रहन्छ कि ?




