पन्थडिही, हर्मी मुगे सडक पिचको काममा सहयोग गरौं
भारतको एक्जिम वैंकको सहयोगमा पन्थडिही, कटहरे, हर्मी, साइलीटार(मुगे) सडकको २०.५ किलोमिटर कालोपत्रे हुने भएको छ । सो सडक कालोपत्रे गर्न एक्जिम वैंक तयार भइसकेको, डिपिआर, लागत स्टमेट, आईई तयार भइसकेको आयोजना कार्यालयले जनाएको छ ।
अब मुआव्जा सम्बन्धी कागजपत्र मिलाउन स्थानीयस्तरको काम बाँकी रहेको छ । सो सडकले चर्चेको जग्गाको मुआव्जा नलिन जग्गाधनीले सहमति पत्रमा हस्ताक्षर गरेपछि काम सुरु हुने आयोजना कार्यालयको भनाइ छ । काम कहिले सुरु गर्ने भन्ने बारे अब स्थानीयबासीकै हातमा छ ।
सो सडक कालोपत्रे गर्ने बारे दुईबर्षअघिदेखि कुरा अघि बढेको थियो तर संगै अघि बढाउने अरु ठाउँको दुईवटा योजनाको विवादका कारण काम अघि बढेको थिएन । अब ती दुइटाको कुरा मिलेपछि सबै काम सुरु हुने भएको छ । पन्थडिही, कटहरे, हर्मी, मुगे सडकको करिब आठ किलोमिटर खण्ड पालुङ्टार १ मा पर्छ । करिब आठ किलोमिटर खण्ड वडा नं. २ मा पर्छ भने करिब चार किलोमिटर खण्ड सिरानचोक ३ हर्मी क्षेत्रमा पर्छ । सडक आसपासको जग्गाको मुआव्जा नदिने बारे प्रभावित क्षेत्रका स्थानीयबासीसंग एकहप्ताभित्रै छलफल गरी सहमति जुटाउने वडा अध्यक्ष परियार बताउँछन् ।
सो सडक कालोपत्रे गर्नेबारे केन्द्र तहमा काम गर्ने जिल्लाका शीर्ष राजनीतिक दलका नेताहरु सकारात्मक छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रतिनिधि सभाका सांसद चुडामणि खडका्, राष्टिूय सभाका सांसदद्वय सुरेन्द्र पाण्डे र नारायणकाजी श्रेष्ठ सो सडकका लागि सहयोग गर्न तत्पर छन् । यसैगरी जिल्ला तह र स्थानीय तहमा पनि सबैको सकारात्मक सहयोगको खाँचो छ ।
राजनीतिका लागि राजनीति गर्नुपर्छ तर विकासका लागि राजनीति गर्नु हुदैन ।




