मिलन बस्ती कहिलेसम्म अलमलमा ?
भूकम्प गएको ५८ महिना पूरा भएको छ । जिल्लाका ९० प्रतिशत नीजि आवास पुनर्निर्माण सम्पन्न भएका छन् । तर बगुवामा निर्माण सुरु गरिएको एकीकृत मिलन बस्तीको अबस्था बेहाल छ ।
भूकम्पमा घर गुमाएकाहरु छाप्रामा छन् । सरकारबाट तीनलाख पाएकाहरुले पनि आफूखुशी घर बनाउन पाएका छैनन् । एकीकृत बस्तीमा घर बनाउने भनेर बस्ती निर्माण समितिले रकम लिएका छन् तर कसैको झ्यालको लेभलमा, कसैको ढोकाको लेभलमा, कसैको छानोको लेभलमा पुगेको छ भने कसैको डिपिसी मात्र गरेर छाडिएको छ । कसैको त घडेरी चिनाएर मात्र राखिएको छ । जग पनि खनिएको छैन ।
एकीकृत बस्ती बनाउने योजना अत्यन्त राम्रो हो । एकीकृत बस्तीमा एकैनाशको घर हुनेछ । तीनलाख रुपैयाँको मात्र घर बनाएको भए एक कोठे घर बन्थे, तर एकीकृत बस्तीमा घर पनि १२ देखि १४ लाख रुपैयाँसम्मको सुविधासम्पन्न बनाउने महत्वाकांक्षी योजना छ ।
एकीकृत बस्ती भइसकेपछि घरघरै सडक, बस्ती वरिपरि रिङरोड, खानेपानी, सौचालय, विद्युतीकरण, सुविधासम्पन्न विद्यालय, खेलमैदान आदिको परिकल्पना गरिएको छ । यी सब भनेको भूकम्प पीडितका लागि भूकम्पको पीडा बिर्साउने उपाहार हुन् । तर निर्माण कार्यले कछुवागति लिएपछि स्थानीयबासीलाई पिडामाथि झन पिडा थपिएको छ ।
घरबाहेकका अन्य पूर्वाधार निर्माणका लागि सरकारले सहयोग गरिरहवेको छ । अहिले नै नौ करोड ५२ लाखको पूर्वाधार विकास योजना सञ्चालित छ । बस्ती रहेको ठाउँलाई सुरक्षित राख्न पर्खाल लगाउने काम भइरहेको छ ।
बच्चा जन्मिनु भन्दा अघि कन्दानी बाट्ने भने झै बस्तीमा घर बन्नुभन्दा अघि अन्य पूर्वाधार निर्माणको काम सम्पन्न हुदैछन् । मुख्य काम घर बनाउने हो । यसमा केन्द्रकृत भएर पहिले छाप्राका बासिन्दालाई घरमा बसाल्नमा जोड देऊ ।




