जताततै अवैध क्रसर र बालुवा खानी
गोरखाको गण्डकी गाउँपालिका ७ चुवाटारमा दर्ताबिनाको ठूलो क्षेत्रफलमा बालुवा खानी सञ्चालनमा छ । गोरखा रिसोर्स म्यानेजमेण्ट प्रालिले गाउँ नै बिस्थापित गरी १३४ रोपनी क्षेत्रफलमा बालुवा खानी सञ्चालन गरेको छ । समुद्री सतहदेखि १४४ फिटसम्म उत्खनन गर्न आइइइ स्वीकृत गराएका छन् ।
सो जमिन १० बर्षका लागि भाडामा लिइसकेका छन् । करिब दुईबर्षअघिदेखि सञ्चालित सो खानीले गाउँपालिकाबाट अनुमति लिएको छ । खानी बिभागमा भने दर्ता गरेको छैन । दुईबर्षभन्दा पहिलेदेखि दर्ता प्रक्रियामा धाउँदा धाउँदा पनि खानी दर्ता गर्न नसकिएको प्रालिका सञ्चालकको भनाइ छ ।
सोही खानीको आडमा स्थानीय व्यक्तिले अर्को खानी अवैध तरिकाले चलाइरहेका छन् । गण्डकी गाउँपालिकाकै वडा नं. ८ धवादीघाटमा अर्को खानी सञ्चालित छ । सिद्धिदर्शन प्रालिको नाममा सञ्चालित सो खानी पनि बिभागमा दर्ता भएको छैन । सोही कम्पनीले हालै क्रसर सञ्चालन गरेको छ । सो क्रसर पनि दर्ता भएको छैन ।
यसअघि यस पत्रिकामा सिरानचोक गाउँपालिका ६ खहरेमा पनि बिना दर्ताको क्रसर सञ्चालनमा रहेको बारे समाचार प्रकाशन भएको थियो । जहाँतहीँ अनाधिकृत रुपमा क्रसर, खानीहरु सञ्चालित छन् । तर यसको बारेमा सम्बन्धित निकाय तैँचुप, मैचुप भएर बसेका छन् ।
खोजी गरेमा अझै धेरै यस्ता उद्योगहरु, खानीहरु अनाधिकृत रुपमा चलेको पाउन सकिन्छ । तर ठूला राजनीतिक ‘सुरक्षा कवचभित्र’ रहेर सञ्चालित ती क्रसर तथा उद्योगलाई नियमन गराउन सबै चुपचाप छन् ।
अनाधिकृत रुपमा सञ्चालित उद्योग तथा खानीलाई प्रदेश सरकार, जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय सरकारले नियमन गर्नुपर्ने हो । तिनलाई झक्झक्याउने काम जिल्ला प्रशासन कार्यालयले पनि भूमिका निर्वाह गर्नुपर्ने हो, तर सबै चुपचाप छन् ।




