काम नगर्ने ठेकेदार नै सर्वोच्च जानु बिडम्बना
देशभर बद्नाम भएको निर्माण कम्पनी पप्पु कन्स्टूक्शन गोरखाको सडक योजना कार्यालयविरुद्ध सर्वोच्चमा गएको छ । काम नगरेको भन्दै कार्यालयले मोबिलाइजेशन जफत गरेपछि सो कम्पनी न्याय माग्न सर्वोच्च गएको हो ।
देशभर ठेक्का लिएको काम अधुरो छोडेपछि नयाँ ठेक्का रोक्कामा परेको सो कम्पनीले गोरखाको बुटार पुल पनि अलपत्र पारेको छ । ७१ सालमा सम्झौता गरेको काम अहिलेसम्म जम्मा १६ प्रतिशत मात्र सम्पन्न गरेको छ । सजायँस्वरुप मोबिलाइजेशन जफत गरेपछि अझै उही कम्पनी कार्यालयविरुद्ध सर्वोच्च गएको हो । यसअघि पनि पुनरावेदन अदालत गएको थियो । मोबिलाइजेशन जफत गर्नुको पर्याप्त कारण सडक योजना कार्यालयले पेश गरेपछि सो कम्पनीले मुद्दा हारेको थियो ।
कारबाही भोग्नु पर्ने कम्पनी यसरी स्टेअर्डर माग गर्न सर्वोच्च धाउन थाले भने यो एउटा घटना मात्र नभै यस्तै प्रकृतिका अन्यका लागि नजिर बन्न सक्छ । सो पुल निर्माणका लागि कम्पनीले सरकारसंग बेलीब्रिज माग गरेको छ । प्राविधिक कारणले बेलिब्रिज उपलब्ध गराउन नसक्दा पुल निर्माणको काम पनि अघि बढ्न नसकेको सो कार्यालयको तर्क छ । अब बेलिब्रिजको समस्या टर्ने अबस्थामा छ, अर्थात, अब बेलिब्रिज बन्ने अबस्थामा छ । यदि बेलिब्रिज बनेपछि पनि पुल बनेन भने सो कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्नुको बिकल्प के हुन्छ ?
बुटार मात्र होइन, गोरखामा अन्य पुलको काम पनि अलपत्र छन् । गोरखा नगरपालिकाको ११ किलो र पालुङ्टार नगरपालिका ९ को दरौदीडाँडा जोड्ने पुल पनि अलपत्र छ । गोरखा नगरपालिका र ताक्लुङ जोड्ने लुदीखोला पुलको अबस्था पनि उस्तै छ । अन्य पुलहरु पनि यस्तै अलपत्र अबस्थामा छन् । तिनीहरु सबैलाई ताकेता गर्नुजरुरी छ ।




