| सोमवार, कार्तिक २३, २०८३

मानव सेवाको पर्याय मानव सेवा आश्रम

नामै काफी भने झै छ, मानव सेवा आश्रम । त्यो आश्रम, जहाँ मानवको सेवा गरिन्छ, मानवताको सेवा गरिन्छ । विविधताले भरिएको वर्तमानमा जुन आश्रमले मानवताको झल्को दिन्छ, त्यो थलो बनेको छ, मानव सेवा आश्रम ।
हालै सो आश्रमले बारपाक सुलीकोट २ रन्चोक घर भई बिगत २० बर्षदेखि गोरखा बजारको सडकलाई आश्रयस्थल बनाइरहेका सार्की भनेर चिनिने अमर गुरुङलाई उद्धार गरेको छ । घरथर भुलेर सडकमा बेसहारा बनेका उनलाई आश्रमले गोरखा उद्धार गरेको हो ।

गोरखामा बालबालिकाहरु मात्र रहने प्रावधान अनुसार सार्कीलाई चितवनको आश्रममा लगिएको छ । बिसौंबर्षदेखि सार्की मानसिक रुपमा पनि अस्वस्थ थिए । आश्रमले उनको लालनपालनका साथै उनलाई मानसिक रुपमा पनि तन्दुरुस्त बनाउने अपेक्षा छ । गोरखाको आश्रममा तीन दर्जन भन्दा धेरै बालगोपाल(सहयोगापेक्षी बालबालिका)हरु रहेका छन् ।

सडकमा अलपत्र रहेका उनीहरुलाई उठाएर लालनपालन गरी शिक्षा, दीक्षा दिलाउँदै आएको छ । एक दृष्टिकोणले हेर्दा खेर गएको जस्तो अवस्थामा पुगेको मानव जीवनलाई आश्रमले पुनर्जीवन दिने गरेको छ । यो अर्थमा मानव सेवा आश्रमको काम सह्रानीय मात्र होइन, अतुलनीय छ । मानवताको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ ।

त्यसैले अहिले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउँदा आम नगरबासीलाई आत्मसन्तुष्टि मिलेको छ । जन्मदिन होओस् वा कुनै पुण्य, पवित्र दिवस होओस् अहिले मानव सेवा आश्रममा गएर बालबालिकासंग रमाउने, हाँसखेल गर्ने, संगै खाने, खुवाउने गरेर मनाउने अभ्यास बढिरहेको छ । देश विदेशमा रहेर पर्याप्त कमाइ गर्नेहरुले आत्मसन्तुष्टि लिनका लागि आश्रममा सहयोग गर्ने परम्परा पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्