| सोमवार, कार्तिक २३, २०८३

कार्यालय भवन निर्माणमा भाँजो नहाल

गोरखाका नौ वटा गाउँपालिका र दुई वटा नगरपालिकामध्य एउटा नगरपालिका र तीनवटा गाउँपालिकाले मात्रै आफ्नै कार्यालय भवनबाट कार्यसम्पादन गरिरहेका छन् ।

गोरखा नगरपालिका, शहीद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको मात्रै आफ्नै कार्यालय भवन छ । चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, अजीरकोट, सिरानचोक, भीमसेन, गण्डकी गाउँपालिका र पालुंटार नगरपालिकाको आफ्नै कार्यालय भवन छैन । ती गाउँपालिकाले पुराना गाविसको भवन, स्वास्थ्यचौकी भवन, नीजि घर भाडामा लिइएको भवनबाट कार्यालय सञ्चालन भइरहेका छन् ।

कार्यालयको आफ्नै भवन नहुँदा सबैभन्दा ठूलो समस्या, कर्मचारी, जनप्रतिनिधिलाई काम गर्ने मनोबल कमजोर हुन्छ । बिभिन्न कार्यसम्पादनका लागि ठाउँको अभाव हुनेगर्छ । त्यतिमात्र होइन, नीजि घर भाडामा लिएर सञ्चालन गर्दा घरबेटीको ‘हेल्लोइफेक्ट’ समेत पर्नेगर्छ । निरन्तर भाडा तिर्दा स्थानीय सरकारलाई अनावश्यक आर्थिक भार पर्छ ।

गाउँपालिका भवन निर्माणका लागि बिभिन्न निकायबाट प्राप्त बजेट फ्रिज भइरहन्छ । ‘आफ्नै पालिकाको कार्यालय भवन त बनाउन नसक्नेले अरु विकास के गर्छ र ?’ भनेर आलोचना हुनेगर्छ । ‘असक्षम’ भनेर कुराकाट्न विपक्षीहरुलाई सजिलो हुन्छ । पालिकाको एउटा ठूलो उपलब्धी गुम्छ ।

हाल अजीरकोट गाउँपालिकामा कार्यालय भवन निर्माण सम्बन्धी विवाद चर्किरहेको छ । नेपाली कांग्रेसको बाहुल्य रहेको गाउँकार्यपालिकाले अजीरकोटमा भवन निर्माण गर्ने तयारी गरेको छ, तर नेकपाको गाउँपालिका कमिटीले मान्द्रे सामुदायिक वन क्षेत्रभित्र बनाउनु पर्ने भनेर अड्को थापिरहेको छ । विवादका कारण भवन निर्माण अन्यौल अबस्थामा छ ।
कार्यालय भवन सबैका लागि हो त्यसैले यसमा राजनीति नगरी भवन निर्माण गर्न बाटो खुला गरिदिनु नै उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्