समयमै बजेट खर्च गर्ने अभ्यास गरौं
जतिबेला जिविस, गाविस जनप्रतिनिधिबिहिन थिए, अर्थात कर्मचारीहरुद्वारा सञ्चालित थिए, त्यतिबेला प्राप्त बजेट पर्याप्त खर्च हुन सक्दैनथ्यो । कर्मचारीहरु भन्थे, स्थानीय निकायमा जनप्रतिनिधि छैनन्, त्यसैले बजेट पर्याप्त खर्च नभएको हो ।
अहिले सबै स्थानीय तहमा अधिकारसम्पन्न जनप्रतिनिधि छन् । अहिले पनि बजेट पर्याप्त खर्च भएको छैन । पाँचवटा स्थानीय तहमा त झन शून्यप्रतिशत मात्र खर्च भएको छ । चालु आर्थिक बर्षको प्रथम चौमासिक अवधिमा विकास बजेट ज्यादै न्यून खर्च गरेका छन् । साउनदेखि कात्तिकसम्मको अवधिमा कुनै पालिकाले छ, सातदेखि ११ प्रतिशतसम्म खर्च गरेको पाइएको छ । कतिपय पालिकाको पुँजीगत खर्च सुन्य रहेको छ ।
हिउँदभरि बजेट खर्च नगर्ने, जब बर्खा लाग्छ, तब हतारमा बजेट खर्च गर्ने बानी स्थानीय सरकारले पनि अबलम्बन गरेका छन् । त्यसो गर्दा ठूलो परिमाणमा बजेट दुरुपयोग हुने गरेको छ । एकातिर काम गुणस्तरहीन, अर्कातिर बजेटको दुरुपयोग । बजेट खर्च भइरहने, काम सँधै अलपत्रको अलपत्र यसले गर्दा देशको शीर कहिल्यै ठाडो हुदैन ।
अहिले उनीहरु उपभोक्ता समिति गठन, अभिमुखीकरण, योजना सम्झौता, टेण्डर आव्हानको चरणमा रहेको बताउँछन् । दोस्रो चौमासिकमा लक्ष्यित प्रगति हुने उनीहरुको अपेक्षा छ । तर छोटो समयमा धेरै बजेट खर्च गर्दा अपारदर्शी हुनसक्ने सम्भावना पनि देखिन्छ ।
त्यसैले यसप्रति स्थानीयबासी, सर्वसाधारण उपभोक्ताहरु पनि आफ्नो ठाउँमा हुने विकास बजेट खर्चको बिषयमा सचेत, सजग रहनुपर्छ । आगामि बर्षदेखि समयमै बजेट तथा कार्यक्रम तय गरी अघि बढाउनु पर्छ । त्यसको अधिक खर्च गरी सदुपयोग होओस् अनि देश अपेक्षित बन्नेछ ।




