| सोमवार, कार्तिक २३, २०८३

केन्द्र तोक्नु र भवन बनाउन नसक्नु कमजोरी

गोरखामा ११ वटा स्थानीय तह छन् । तीमध्य चार वटाको आफ्नै कार्यालय भवन छन् । सातवटा स्थानीय तहको आफ्नै कार्यालय छैनन् । आफ्नै कार्यालय नभएका सात पालिकामध्य दुईवटा पालिकाको केन्द्र अझै टुंगो लागेका छैनन् ।
गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, शहिद लखन

गाउँपालिकाको आफ्नै कार्यालय छन् । पालुङ्टार नगरपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, अजीरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकाको आफ्नै कार्यालय भवन छैनन् ।

पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका, चुमनुब्री गाउँपालिका र सिरानचोक गाउँपालिकाचाहिँ बिभिन्न सरकारी कार्यालय भवनमा सञ्चालित छन् । धार्चे र अजीरकोट गाउँपालिकाचाहिँ भाडाको घरमा सञ्चालित छन् । सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने बारे पनि निश्चित भएका छ्रैनन् । यद्यपि सिरानचोकको छोप्राकमा र गण्डकीको आइडाँडामा हाल सञ्चालित छन् ।

स्थानीय सरकार गठन भएको तीबर्ष पुग्न लाग्यो । यत्तिका समयसम्म आफ्नै केन्द्र र आफ्नै कार्यालय पनि निर्माण गर्न नसक्नु सम्बन्धित पालिकाको कमजोरी हो । पालुङ्टार नगरपालिकाको कार्यालय निर्माणाधीन छ । केही समयपछि आफ्नै भवनमा सर्दैछ । बाँकी पालिकाहरुले यत्तिका बर्षसम्म किन विवाद समाधान गरेर केन्द्र निर्धारण गर्न सकेनन् ?

कार्यालय भवन बनाउन सकेनन् ? कसले रोक्यो ? रोक्ने तत्वलाई राजनीतिक सहमति जुटाएर किन किनारा लगाउन सकिएन ? यी तमाम प्रश्न उब्जिएका छन् । गाउँपालिकाको चौतर्फी दीगो विकास गर्ने दायित्व बोकेको पालिकाले आफ्नै केन्द्र र भवन सम्बन्धी विवाद किन मिलाउन सकेन ? यसको जवाफ दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्