| सोमवार, कार्तिक २३, २०८३

सरकारी कार्यालयले बिकास बजेट खर्च गर्ने क्षमता बढाऊ

गोरखाका सरकारी कार्यालयहरुले चालु आर्थिक बर्षको प्रथम चौमासिक अवधिमा विकास बजेट ज्यादै न्यून खर्च गरेका छन् । साउनदेखि कात्तिकसम्मको अवधिमा नगण्य मात्र खर्च गरेका हुन् । कतिपय कार्यालयको पुँजीगत खर्च सुन्य रहेको छ । तीमध्य कतिपय कार्यालयहरु हिउँदभरि बजेट खर्च नगर्ने, जब बर्खा लाग्छ, तब हतारमा बजेट खर्च गर्ने बानी परेको छ । त्यसो गर्दा ठूलो परिमाणमा बजेट दुरुपयोग हुने गरेको छ । एकातिर काम गुणस्तरहीन, अर्कातिर बजेटको दुरुपयोग । बजेट खर्च भइरहने, काम सँधै अलपत्रको अलपत्र यसले गर्दा देशको शीर कहिल्यै ठाडो हुदैन ।
कतिपय कार्यालय प्रमुखहरु भने दोहोरो चपेटामा पर्ने गरेको गुनासो गर्ने गर्छन् । मन्त्रालयबाट बजेट तथा कार्यक्रम नआएकाले हिउँदभरि खर्च गर्न नपाएको ती कार्यालयको गुनासो छ । जब तेस्रो चौमासिक सुरु हुन्छ, तब धान्नै नसक्ने बजेट तथा कार्यक्रम आउने ती कार्यालयहरुको आरोप छ । छोटा अवधिमा ठूलो परिमाणमा बजेट खर्च गर्नुपर्दा कहिल्यै स्वस्थ खर्च हुदैन ।
यस बिषयमा सरकार जानकार छ । सबै राजनीतिक दल परिचित छन् । धेरथोर सामाजिक काम गर्नेहरु पनि यसबारेमा जानकार छन् । थाहा भएर पनि कोही पनि यो समस्या समाधान गर्नतर्फ लागेका छैनन् । धमिलो पानीमा माछा मार्न सजिलो हुन्छ भन्ने सबैलाई थाह छ । त्यसैले उनीहरु पानी सङ्लो पार्न चाहदैनन् ।
समयमै बजेट तथा कार्यक्रम आओस् । त्यसको अधिक खर्च गरी सदुपयोग होओस् अनि देश अपेक्षित बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्