| सोमवार, कार्तिक २३, २०८३

सालिक निर्माण र पर्यटन विकास

पर्यटन विकास गर्ने लक्ष्य राखेर गोरखा नगरपालिकाभित्र विभिन्न ऐतिहासिक व्यक्तित्वहरुको सालिक स्थापना कार्यले तिब्रता पाएको छ । गोरखा नगरपालिकाले निर्माण गरेको नेपालकै प्रथम प्रधानमन्त्री तथा राष्टिूय विभूति भीमसेन थापाको सालिक शनिबार अनावरण भयो ।
त्यसअघि पस्लाङ चौतारामा गोरखा उद्योग वाणिज्य संघले द्रव्य शाहको सालिक निर्माण गरेको थियो । त्यस्तै बिसे नचर्गी प्रतिष्ठानले गोरखा नगरपालिकाको सहयोगमा पोखराथोकको नगर्ची टोलमा विसे नगर्चीको सालिक निर्माण गरेको छ । नेपाल मगर संघले सदरमुकामबाट शहीद लखन गाउँपालिकातिर जाने बाटो, गोरखा अस्पताल आसपासमा नेपालका प्रथम शहीद लखन थापाको सालिक स्थापना गरेको छ ।
पुरातत्व विभागले गोरखा पार्कभित्र नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको र गोरखा दरबारको पञ्चे(सभा) चौतारामा न्यायका प्रतिमूर्ति राम शाहको सालिक निर्माण गरेको छ ।
गोरखा बजारभित्र मात्र होइन, बिभिन्न गाउँपालिका, नगरपालिकाहरुमा पनि ऐतिहासिक व्यक्तित्वहरुको सालिक निर्माणको काम भइरहेको छ । पालुङ्टार नगरपालिका १, साबिक खोप्लाङ गाविसमा कालु पाण्डेको सालिक निर्माण भएको छ । धार्चे गाउँपालिकाले भिक्टोरिया क्रस विजेता सिङ्लाका थमन गुरुङको सालिक स्थापना गरेको छ ।
सालिकले तत्कालीन इतिहास, घटनाक्रमको स्मरण गराउँछ । इतिहासका विद्यार्थीहरु अध्ययन भ्रमणमा सो सालिक रहेको ठाउँमा आउँछन् । अन्य उद्देश्यले भ्रमणमा गोरखा आएकाहरुका लागि पनि सालिकले थप आकर्षण दिन्छ । त्यसैले संग्रहालय निर्माण गर्ने पालिकाहरुको तथा अन्य संघसंस्थाहरुको कार्य सह्रनीय नै छ ।
विदेशहरुमा पनि सालिक संस्कृति जीवित छ । प्रसिद्ध व्यक्तित्वको सालिकप्रति सबैको आकर्षण रहन्छ । त्यसैले सालिकको प्रवद्र्धन गर्दै पर्यटन विकासमा लाग्नु मनासिव छ ।

प्रतिक्रिया दिनुहोस्