युवाहरु स्वरोजगारको बाटोमा
कुनै समय थियो, युवाहरु बर्खाको भेल मडारिए झै विदेशतिर बग्ने । अहिले त्यो अबस्था छैन । धेरै युवाहरुले स्वदेशमा रोजगारी सुरु गरेका छन् । मिहिनेत गरे स्वदेशमै मालामाल हुन सकिन्छ । यसका उदाहरण दिनका लागि अब धेरै दुख गर्नुपर्ने अबस्था छैन । तपाइँ हाम्रै छरछिमेकमा यस्ता उदाहरण देख्न सकिन्छ । विदेशमा जाने, कमाइ गर्ने अनि त्यही कमाइलाई बिउ पुँजी बनाएर स्वदेशमा विभिन्न उद्यम सुरु गर्ने काम धमाधम भइरहेका छन् । यसले धेरै कुरामा फाइदा हुन्छ । पहिलो फाइदा त, स्वदेशबाट युवा पलायन हुनबाट रोक्छ । दोस्रो फाइदा स्वदेशमा अत्मनिर्भरता बढ्छ, परनिर्भरता घट्छ । तेस्रो फाइदा देशको अर्थतन्त्र संवृद्ध हुन्छ । चौथो फाइदा बिभिन्न उत्पादनमा स्वदेश आत्मनिर्भर हुन्छ । पाँचौँ, अन्य युवाहरुले पनि स्वदेशमै काम पाउँछन् । छैठौं फाइदा, उद्यम, व्यवसाय गरेर बचेको समय युवाहरुले समाज सेवामा लगाउँछन् । सातौं फाइदा, युवाहरु गाउँमै बसे भने मर्दा, पर्दा हारगुहारमा युवा जनशक्ति जुट्नेछन् । परिबारसंग रहँदा परिवार र आफू पनि सुखी जीवन बिताउन पाउनेछन् । यति धेरै फाइदा हुँदाहुदै पनि कतिपय युवाहरु अहिले पनि पलायन नभएका होइनन् पलायन हुने दर चाहिँ घटेकोमा दुईमत छैन । युवालाई विदेश पलायन हुनबाट बचाउन राज्यले अवलम्बन गरेको नीतिको पनि ठूलो भूमिका हुन्छ । युवालाई देशभित्रै उद्यम व्यवसाय गरेर बस्ने वातावरण बनाउन राज्यले लगानीमैत्री वातावरण बनाउनु पर्छ । स्वरोजगार गर्न अनुकूल वातावरण सिर्जना गर्नुपर्छ । नीति र नियम, प्रक्रिया अपनाउँदा अपनाउँदैमा, झण्झट र हैरानी खेप्दाखेप्दै कञ्चट समात्नुपर्ने अबस्थाको अन्त्य गर्नुपर्छ । त्यसैले युवाहरुलाई स्वदेशमै रहने वातावरण बनाउनुपर्छ ।




