
गोरखकाली रबर उद्योगलाई जीवन देऊ
देशमा यतिबेला विकास र संवृद्धिको नारा घन्किने गरेका छन् । वडा अध्यक्षदेखि मन्त्री, प्रधामन्त्री, राष्ट्रपतिसम्मको मुखबाट निस्किने साझा बोली हो, ‘विकास र संवृद्धि’ ।
भन्ने बेला विकास र संवृद्धि, गर्ने बेला आलाटाली । अहिले सरकारको स्वामित्वमा रहेका धेरै उद्योग कलकारखाना, तथा अन्य कम्पनीहरु धरासायी छ । आंशिकमात्र चलेका छन्, त्यही पनि घाटामा ।
उद्योग कलकारखाना बन्द गर्ने अनि युवाहरुलाई स्वदेशमै बस भन्नचाहिँ ‘खाए खा, नखाए घिच’ भन्ने ग्रामीण जनमानसमा प्रचलित उखान जस्तै भएको छ । स्वदेश पनि बस भन्ने, विदेश पनि नजा भन्ने, स्वदेशमा रोजगार पनि नदिने ।
टायर उत्पादन गर्ने नेपालको एक मात्र कम्पनी हो, गोरखकाली रबर उद्योग । यो उद्योग अहिले बिगत छ बर्षदेखि निरन्तर बन्द भएको छ । अहिले सरकारले त्यहाँ कार्यरत तीनसय जना कर्मचारी, मजदुरलाई उपदान भुक्तानीको तयारी गरेको छ । उनीहरुलाई अन्तिम किस्तास्वरुप रकम दिएपछि उद्योग औपचारिक रुपमै बन्द हुन्छ । शान्ति र संवृद्धिका लागि यस्तो समाचार दुखद हुनेछ ।
नयाँ नयाँ उद्योग कलकारखान खुल्नु पर्ने बेला, भएका पनि धमाधम बन्द हुनु धेरै दुखद छ । त्यसैले यस उद्योगलाई निजीकरण गरेर हुन्छ, वा विदेशी उद्योगीहरुलाई चलाउन दिएर हुन्छ, सञ्चालनको प्रयास गर्नुपर्छ । त्यसका लागि स्थानीय वा प्रदेश सरकारले मात्र होइन, तीनै तहको सरकारले चासो दिनुपर्छ ।




